काठमाडौं। दीपक डुम्रेको अर्धशतकसँगै गण्डकी प्रदेशले प्रधानमन्त्री कपमा पहिलो जित हात पारेको छ।
मंगलबार सम्पन्न खेलमा गण्डकीले कर्णाली प्रदेशलाई चार विकेटले पराजित गरेको हो। गण्डकी पहिलो खेलमा सुदूरपश्चिम प्रदेशसँग ६ विकेटले पराजित भएको थियो। तर, दोस्रो खेलमा कर्णालीमाथि जित हात पार्दै पुनरागमन गरेको हो।
कर्णालीको भने यो पहिलो हार हो। यसअघि कर्णालीले सुदूरलाई ७९ रनले हराएको थियो।
कर्णालीले दिएको ९२ रनको लक्ष्य पछ्याएको गण्डकीले २९.१ ओभरमा ६ विकेट गुमाउँदै ९५ रन बनाएको हो।
गण्डकीका दीपकले अविजित रहँदै सर्वाधिक ५० रन बनाए। ७८ बल खेलेका उनले सात चौका प्रहार गरे। सुजन गौतमले अविजित रहँदै २२ रन बनाउँदा अन्यको ब्याटिङ राम्रो रहेन।
कर्णालीका दिवस पुनले सर्वाधिक तीन विकेट लिए।
त्यसअघि देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदान, लमहीमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले २७.२ ओभरमा सबै विकेट गुमाउँदै ९१ रन बनाएको थियो।
कर्णालीका विपिन शाहीले सर्वाधिक २० रन बनाए। ५७ बल खेलेका उनले दुई चौका प्रहार गरे। अर्जुन घर्ती १७, विपिन रावल १५ र हिमान्शु शाहीले १७ रन बनाउँदा अन्यको ब्याटिङ खराब रह्यो।
गण्डकीका चन्द्र पौडेल, सुवास भण्डारी र विपिन खत्रीले समान दुई विकेट लिए।