काठमाडौं। हङकङले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालमाथि दुई रनको रोमाञ्चक जित दर्ता गरेको छ।
हङकङले दिएको १०१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ९८ रन मात्रै बनाएको हो।
नेपाललाई जितको लागि अन्तिम बलमा चार रन चाहिएको थियो। तर, ईश्वरी विष्टले एक रन मात्रै लिन सकेपछि नेपालले प्रतियोगितामा दोस्रो हार बेहोरेको हो।
पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा घरेलु टोली युगान्डामाथि एक विकेटको रोमाञ्चक जित निकालेको थियो।
हङकङले भने लगातार दोस्रो जित हात पारेको छ। पहिलो खेलमा हङकङ युगान्डासँग आठ विकेटले पराजित भएको थियो। अर्को खेलमा भने हङकङले नामिबियालाई चार विकेटको जित निकालेको थियो।
नेपालकी कप्तान इन्दु बर्माले सर्वाधिक ३२ रन बनाइन्। ३३ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। पूजा महतो १९, बिन्दु रावल १४ र सना प्रविण १० रनमा आउट हुँदा रोमा थापा १३ र ईश्वरी दुई रनमा अविजित रहिन्।
अन्य ब्याटरले सम्झनयोग्य प्रदर्शन गर्न सकेनन्।
हङकङकी मारिको हिलले सर्वाधिक दुई विकेट लिइन्। एल्सन सिउ र क्यारी चानको नाममा समान एक विकेट रह्यो।