काठमाडौं। कुशल भुर्तेल र आरिफ शेखको अर्धशतकसँगै विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कपमा विजयी सुरुआत गरेको छ।
पुलिसले सोमबार लुम्बिनीलाई १८७ रनले पराजित गरेको हो। योसँगै पुलिसले दुई अंक जोडेको छ। लुम्बिनीको भने यो पहिलो हार हो।
पहिलो खेलमा लुम्बिनीले कोशी प्रदेशलाई २६ रनले पराजित गरेको थियो। पुलिसले पहिला ब्याटिङ गर्दै कुशल र आरिफको अर्धशतकसँगै २५० रनको लक्ष्य प्रस्तुत गरेको थियो।
तर, लुम्बिनीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै १६२ रन मात्रै बनाउन सक्यो। लुम्बिनीका प्रज्जवल थापाले सर्वाधिक ७२ रन बनाए। ९४ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे।
मृणाल गुरुङ ३०, सलाहुदिन खान १३ र कप्तान देव खनाल ११ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
पुलिसका सागर ढकालले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले दुई मेडनसहित ३२ रन खर्चिए।
ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले समान दुई विकेट लिए। रशिद खान र कुशल भुर्तेलले समान एक विकेट आफ्नो नाममा लेखाए।
त्यसअघि भैरहवास्थित एक्ट्राटेक ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २४९ रनको योगफल तयार गरेको थियो।
पुलिसका कुशलले सर्वाधिक ५९ रन बनाए। ७५ बल खेलेका उनले ६ चौका र एक छक्का प्रहार गरे। आरिफले ७९ बलमा दुई चौकासहित ५६ रन बनाए।
दीलिप नाथ ३४ र अमित श्रेष्ठ २२ रनमा आउट हुँदा गुल्सनकुमार झा ३६ रनमा अविजित रहे। लुम्बिनीका कृष्ण कार्की र अजय चौहानले सर्वाधिक तीन विकेट लिए।