काठमाडौं। भारतले १२ वर्षपछि आइसिसी च्याम्पियन ट्रफी जितेको छ। आइतबार सम्पन्न फाइनलमा न्युजिल्यान्डमाथि चार विकेटको जित निकालेको हो।
भारतले अन्तिमपल्ट सन् २०१३ मा महेन्द्रसिंह धोनीको कप्तानीमा च्याम्पियन ट्रफी जितेको थियो। भारतले उक्त फाइनलमा इङ्ल्यान्डलाई पाँच रनले हराएको थियो।
यसपल्ट भने भारतले अन्तिम ओभर बाँकी रहँदा न्युजिल्यान्डलाई चार विकेटले पराजित गर्दै चौथोपल्ट उपाधि हात पारेको हो।
न्युजिल्यान्डले प्रस्तुत गरेको २५२ रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो।
भारतलाई जित दिलाउन कप्तान रोहित शर्मा नै निर्णायक बने। ८३ बल खेलेका उनले सात चौका र तीन छक्कासहित सर्वाधिक ७६ रन बनाए।
श्रेयस अय्यर ४८, शुभमन गिल ३१, अक्षर पटेल २९ र हार्दिक पाण्ड्या १८ रनमा आउट हुँदा केएल राहुल ३४ र रविन्द्र जडेजा नौ रनमा अविजित रहे।
न्युजिल्यान्डका मिचेल सैन्टर र माइकल ब्रेसवेलले समान दुई विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २५१ रन बनाएको थियो।