काठमाडौं। नेपालले वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा घरेलु टोली युगान्डामाथि रोमाञ्चक जित निकालेको छ।
आइतबार सम्पन्न खेलमा नेपाल एक विकेटले विजयी भएको हो। नेपाल पहिलो खेलमा नामिबियासँग ६ विकेटले पराजित भएको थियो। युगान्डाले भने हङकङलाई आठ विकेटले पराजित गरेको थियो।
युगान्डाले प्रस्तुत गरेको ७६ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी रहँदा नौ विकेट गुमाउँदै पूरा गरेको हो।
नेपालकी ओपनर सना प्रविणले सर्वाधिक १७ रन बनाइन्। उनले यही खेलमार्फत सिनियर टोलीमा डेब्यु गरेकी हुन्।
नेपाली यु–१९ महिला टोलीलाई एसिया कप र आइसिसी यु–१९ विश्वकप खेलाएकी ओपनरलाई यसैपल्ट राष्ट्रिय टोलीमा समावेश गरिएको थियो।
नामिबियासँग पहिलो खेलमा ६ विकेटले हार्दा उनी बेन्चमा थिइन्। तर, अर्को खेलमै उनले डेब्यु गर्ने अवसर प्राप्त गरेकी हुन्।
उनी नेपाली महिला टोलीबाट डेब्यु गर्ने ३८औं खेलाडी हुन्।
पूजा महतो १६ र रुविना क्षेत्री बेलबासेले १९ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
त्यसअघि एन्टेब्बे क्रिकेट ओभलमा पहिला ब्याटिङ थालेको युगान्डाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ७६ रनको योगफल तयार गरेको थियो।
युगान्डाकी इम्याक्युलेट नकिसुयीले सर्वाधिक २२ रन बनाइन्। ४० बल खेलेका उनले तीन चौका प्रहार गरिन्। स्टेफनी नाम्पीना १४ र मालिसा अरिओकोटले ११ रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालकी पूजा महतोले तीन र कप्तान इन्दु बर्माले दुई विकेट लिइन्।