एजेन्सी । समूहको अन्तिम खेलमा भिड्दै गर्दा प्रतियोगिताबाट बाहिरिसकेको मोरक्कोले स्पेनलाई समस्यामा पार्न सक्छ । प्रतियोगिताको सुरुदेखी नै समस्यामा देखिएको स्पेनले आफ्नो स्वभाविक लय पस्कन सकेको छैन् ।
पहिलो खेलमा पोर्चुगलसंग ३–३ गोलको बराबरी खेलेको स्पेनले दोस्रो खेलमा इरानविरुद्ध संघर्षपुर्ण जित निकालेको थियो । डिफेन्समा कमजोर देखिएको स्पेनले गोलका अवसर सिर्जन गर्न समेत संघर्ष गरिरहेको थियो । तर, डिएगो कोस्टाको गोलसंगै स्पेनले महत्वपुर्ण ३ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिन सफल भयो ।
मोरक्कोको रुसी यात्रा सम्झन लायक रहेन । युरोपेली क्लब फुटबलमा भिजेका खेलाडीले भरिएको मोरक्कोले संगठित प्रर्दशन गर्नै सकेन । त्यसैले आयातित खेलाडीले भरिएको मोरक्को एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ ।
स्पेनका प्रशिक्षक फनान्डो हेइरो भन्छन्, ‘यो विश्वकप हो, कुनै एक खेलपनि सजिलो हुदैन । हामीले आफुलाई अगाडी बढाएका छौ । आशा गरौ हामी जितको यात्रालाई कायम राख्न सकौ ।’ ‘केही टिमहरु सजिलैसंगै नकआउट चरण प्रवेश गरे । तर हाम्रो समुह कठिन थियो । हामीसंग कुनै विकल्प छैन । त्यसैले मोरक्कोविरुद्धको खेलमा समेत तीन अंक बटुल्ने लक्ष्यका साथ हामी खेल्नेछौ ।’ उनले भने ।
यता, मोरक्कोका प्रशिक्षक हार्बे रिनार्डोले बलियो प्रत्यासी स्पेनविरुद्ध जितकालागि उत्रने बताएका छन् । ‘हामी २० बर्षपछि विश्वकपमा छानिएका हौ र हामीले प्रमाणित गरेका छौ कि हामी फुटबल खेल्न सक्छौ,’ उनले भने ।
स्पेन गोलकिपर पेपे रैनाबिनै मैदान उत्रने सम्भावना छ । डिफेन्डर नाचो चोट मुक्त हुदै मैदान फर्कन सक्ने सम्भावना छ । प्रतियोगिताबाट बाहिरिएको मोरक्कोले पुरानै टिमलाई आजको खेलमा मौका दिने सम्भावना छ । यसअघि दुवै टोली दुईपटक भिडेका थिए । दुवै खेल स्पेनले बाजी मारेको थियो ।