काठमाडौं। नेपाल युगान्डा वुमेन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो खेलमै पराजित भएको छ।
शनिबार भएको पहिलो खेलमा नामिबियासँग नेपाल डकवर्थ लुइस (डिएलएस) मा ६ विकेटले पराजित भएको हो।
नेपालले दिएको ९३ को लक्ष्य पछ्याएको नामिबियाले १४.५ ओभरमा चार विकेट गुमाउँदै ७१ रन बनाएको थियो। तर, वर्षा नरोकिएपछि डिएलएसमा नामिबिया विजयी भएको हो।
नामिबियाकी मेकेले म्वाटिलेले सर्वाधिक २६ रन बनाएकी थिइन्। ३५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्।
जुरियन डियर्गार्ड्ट १३ रनमा अविजित रहँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेका थिएनन्।
नेपालका पूजा महतो, कविता जैशी, इन्दु बर्मा र ईश्वरी विष्टले समान एक विकेट लिएका थिए।
त्यसअघि टस जितेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९२ रनको योगफल बनाएको थियो।
नेपालकी ओपनर सम्झना खड्काले सर्वाधिक १८ रन बनाइन्। ११ बल खेलेकी उनले चार चौका प्रहार गरिन्।
ईश्वरी विष्टले १७, कविता जैशी १६ र पूजा महतोले १३ रन बनाउँदा अन्यको प्रदर्शन सम्झनलायक रहेन।