काठमाडौं। मध्यक्रमका ब्याटर डेभिड मिलरको शतकका बाबजुत दक्षिण अफ्रिकालाई च्याम्पियन ट्रफीको सेमिफाइनलमै रोकिएको छ।
बुधबार सम्पन्न दोस्रो सेमिफाइनलमा न्युजिल्यान्ड ५० रनले विजयी भएको हो। योसँगै न्युजिल्यान्डले उपाधिका लागि भारतसँग खेल्ने पक्का भएको छ।
पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई चार विकेटले पराजित गर्दै भारतले फाइनलको यात्रा तय गरिसकेको छ।
न्युजिल्यान्डले प्रस्तुत गरेको ३६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१२ रन मात्रै बनाउन सक्यो।
मिलरले अन्तिम बलसम्म पनि डटेर ब्याटिङ गरेका थिए। तर, टोलीलाई जित भने दिलाउन सकेनन्। उनले अविजित रहँदै ६७ बलमा १० चौका र चार छक्का सहित १०० रन बनाए। दक्षिण अफ्रिकाले खराब सुरुआत गरेको थियो।
ओपनर रायन रिकलटन १७ रनमै क्याच भए। त्यतिखेर दक्षिण अफ्रिकाको स्कोर ४.५ ओभरमा २० रन मात्रै थियो। तर, कप्तान तेम्बा बवूमा र रासी वान दर दुन्सेले दोस्रो विकेटका लागि १०५ रनको विशाल साझेदारी गर्दै टोलीलाई खेलमा पुनरागमन गराए।
तेम्बा २२.२ ओभरमा ५६ रन बनाउँदै केन विलियम्सनबाट क्याच भए। ७१ बल खेलेका उनले चार चौका र एक छक्का प्रहार गरे। रासी त्यसको चार ओभरपछि ६९ रनमा बोल्ड भए। उनले ६६ बलमा चार चौका र दुई छक्का प्रहार गरे।
यी दुवैलाई मिचेल स्यान्टनरले आउट गराएका हुन्। त्यसपछि दक्षिण अफ्रिकाको संकट चुलिएको हफ। एडन मारक्रम ३१, हाइनरिक क्लासन तीन, वियान मुल्डर आठ, मार्को यानसन तीन, कागिसो रबाडा १६ र केशम महाराजा एक रनमा पभिलियन फर्किए।
न्युजिल्यान्डका कप्तान स्यान्टनरले सर्वाधिक तीन विकेट लिए। १० ओभर बलिङ गरेका उनले ४३ रन खर्चिए। म्याट हेनरी र ग्लेन फिलिप्सले समान दुई विकेट लिँदा माइकल ब्रेसवेल र रचिन रवीन्द्रको नाममा एक/एक विकेट रह्यो।
त्यसअघि लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ थालेको न्युजिल्यान्डले रचिन रवीन्द्र र केन विलियम्सनको सानदार शतकसँगै निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३६२ रनको योगफल तयार गरेको थियो।
न्युजिल्यान्डले ४८ रन बनाउँदा नै विल योङलाई गुमाएको थियो। उनले २३ बलमा तीन चौकासहित २१ रन बनाए। तर, अर्का ओपनर रचिन र केनले तेस्रो विकेटका लागि १६४ रनको विशाल साझेदारी गरे।
रचिन ३३.३ ओभरमा १०८ रन बनाउँदै पभिलियन फर्किए। उनले १०१ बलमा १३ चौका र एक छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनको यो दोस्रो शतक हो। यसअघि उनले बंगलादेशविरुद्ध ११२ रन प्रहार गरेका थिए।
केन भने ३९.५ ओभरमा वियान मुल्डरको बलमा लुंगी एन्गिडीबाट क्याच भए। उनले ९४ बलमा १० चौका र दुई छक्कासहित १०२ रन बनाए।
योसँगै न्युजिल्यान्ड विशाल लक्ष्यतर्फ अग्रसर भइसकेको थियो। न्युजिल्यान्डले पछिल्लो १० ओभरमा थप तीन विकेट गुमाउँदै १११ रन जोड्यो।
डैरिल मिचेल अर्धशतकबाट एक रनले चुके। ३७ बलमा चार चौका र एक छक्का प्रहार गरर्का उनी कागिसो रबाडाबाट ४९ रनमा क्याच आउट भए।
माइकल ब्रेसवेल १६ रनमा आउट हुँदा ग्लेन फिलिप्स ४९ रनमा अविजित रहे।