काठमाडौं। विराट कोहलीको सानदार इनिङ्सप्रेरित भारत आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा पुगेको छ।
मंगलबार सम्पन्न पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले पराजित गरेको हो।
अस्ट्रेलियाले प्रस्तुत गरेको २६५ रनको लक्ष्य पछ्याएको भारतले ४८.१ ओभरमा ६ विकेट गुमाउँदै २६७ रन बनायो।
जीवनदान पाएका शुभमन गिलले आफ्नो इनिङ्सलाई लामो बनाउन सकेनन्। उनी आठ रनमा बेन ड्पारश्विसबाट बोल्ड भए। यद्यपि, कप्तान रोहित शर्माले २८ र विराट कोहलीले ८४ रन बनाए।
९८ बल खेलेका कोहलीले पाँच चौका प्रहार गरे। श्रेयस अय्यर ४५, अक्षर पटेल २७ र हार्दिक पाण्ड्या २८ रनमा आउट हुँदा केएल राहुलले ४२ र रवीन्द्र जडेजाले दुई रनको अविजित इनिङ्स खेले।
अस्ट्रेलियाका नेथम एलिस र एडम जाम्पाले समान दुई विकेट लिए।
त्यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको अस्ट्रेलियाले कप्तान स्टिभ स्मिथ र एलेक्स क्यारीको अर्धशतकसँगै निर्धारित ५० ओभर सकिन तीन बल बाँकी रहँदा सबै विकेट गुमाउँदै २६४ रनको योगफल तयार गरेको थियो।
अस्ट्रेलियाले तेस्रो ओभरको अन्तिम बलमै ओपनर कुपर कोनलीलाई शून्य रनमा गुमाएको थियो। तर, अर्का ओपनर ट्राभिस हेड र कप्तान स्टिभ स्मिथले अर्धशतकीय साझेदारी गर्दै अस्ट्रेलियालाई खेलमा पुनरागमन गराए।
हेड नवौं ओभरको दोस्रो बलमा ३९ रनमा सुभनम गिलबाट क्याच आउट भए। उनले ३३ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। त्यसपछि स्मिथले मार्नस लाबुशेनसँग पनि अर्को अर्धशतकीय साझेदारी गरे।
लाबुशेन २९ रनमा रविन्द्र जडेजाबाट एलबिडब्युको सिकार भए। जोश इङ्लिस ११, ग्लेन मैक्सवेल सात र बेन ड्वारश्विस १९ रनमा आउट हुँदा एलेक्स क्यारीले ५७ बलमा आठ चौका र एक छक्कासहित ६० रनको इनिङ्स खेले।
उनको ओडिआइमा यो १२औं अर्धशतक हो। भारतका मोहम्मद शमी, वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले समान दुई विकेट लिए। अक्षर पटेलको नाममा एक विकेट रह्यो।