एजेन्सी । इरानलाई एउटा सफलताले पर्खिएर बसेको छ, इतिहास रच्ने त्यो सफलता इरानले पार गर्ला ? विश्वकपको समुह चरणको अन्तिम खेल सुरु हुँदै गर्दा मुख्य प्रश्न यही हुनेछ ।
फिफा वरियताको ३७ औं स्थानमा रहेको इरानको नकआउट चरण पुग्ने सम्भावना बलियो छ तर त्यसका लागि उसले पोर्चुगलको चुनौती पार गर्न सक्ने आँट गर्न पर्छ । अझ भनौं करियरमै उत्कर्षमा रहेका रोनाल्डोको गतिलाई रोक्न सक्नु पर्छ । त्यसैमा इरानको इतिहासको कथा लेखिनेछ ।
पोर्चुगललाई जित्न सके इरानले एक अप्रत्यासित नतिजा सहित विश्वकपमा नयाँ इतिहास लेख्नेछ । अझ समिकरणले इरानको समुह विजेता बन्ने सम्भावना समेत देखाउछ । यदी स्पेन, मोरक्कोसंग रोकिए । अनि पोर्चुगललाई हराउन सकेमा इरान समूह विजेता बन्ने समिकरण तय छ । तर युरोकपको विजेताको रुपमा रुसको यात्रामा निस्किएको पोर्चुगलको लय र रोनाल्डोको गतिलाई रोक्न कुनैपनि टिमलाई कठिन हुने पक्का छ । त्यो तथ्य इरानले समेत राम्रोसंग बुझेको हुनपर्छ ।
चोट बोकेका एहसान हजसाफी इरानको टोलीबाट समूह चरणको अन्तिम खेल गुमाउनेछन् । जोए माउटिन्हो विरामीका कारण अभ्यास शत्रबाट समेत बाहिर छन् । उनी पोर्चुगलको खेल अगाडी तयार हुने सम्भावना कम छ ।
पोर्चुगल र इरान दोस्रो पटक विश्वकपमा भिड्न लागेका हुन् । सन् २००६ मा भएको विश्वकपमा पोर्चुगलले इरानलाई २–० ले हराएको थियो । सो खेलमा रोनाल्डोले समेत गोल गरेका थिए ।