काठमाडौं। अस्ट्रेलिया आइसिसी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
पाकिस्तानको लाहोरमा अफगानिस्तान भइरहेको खेल वर्षाका कारण रद्द भएपछि अस्ट्रेलियाले सेमिफाइनलमा स्थान बनाएको हो।
यसअघि अफगानिस्तानले अस्ट्रेलियालाई जितका लागि २७४ रनको लक्ष्य दिएको थियो। खेल रोकिँदा अस्ट्रेलियाले १२.५ ओभरमा एक विकेट गुमाएर १०९ रन बनाएको थियो।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले ४० बलमा नौ चौका र एक छक्काको मद्दतले ५९ रन बनाए भने कप्तान स्टिभ स्मिथले १९ रन बनाए।
लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले १५ बलमा तीन चौका र एक छक्काको मद्दतले २० रन बनाएर आउट भएका म्याथ्यू सर्टको विकेट गुमायो। अस्ट्रेलियालाई जित्नको लागि थप १६५ रन आवश्यक थियो। तर, वर्षा रोकिए पनि मैदान धेरै भिजेको कारण खेल पुनः सुरु हुन सकेन।
अफगानिस्तानले अझै एक मौका पाउने छ। अफगानिस्तानको नजर अब शनिबार हुने दक्षिण अफ्रिका र इङ्ल्यान्डबीचको खेलमा हुनेछ। दक्षिण अफ्रिकाको हारले अफगानिस्तानको लागि ढोका खोल्न सक्छ।
भारत र न्युजिल्यान्डपछि अस्ट्रेलिया च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुग्ने तेस्रो टोली बनेको छ। अस्ट्रेलियाले आफ्नो पहिलो खेलमा इङ्ग्ल्यान्डलाई पराजित गरेको थियो।
यसपछि दक्षिण अफ्रिकाविरुद्धको दोस्रो खेल वर्षाले रद्द भएको थियो र अब अफगानिस्तानविरुद्धको खेल पनि सक्किन पाएन।
यसरी अस्ट्रेलियाले समूह चरणका तीन खेलमध्ये एक जित्यो र चार अंकसहित सेमिफाइनलमा स्थान सुरक्षित गर्यो। दक्षिण अफ्रिका र अफगानिस्तान अब तालिकामा क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्।
यदि दक्षिण अफ्रिकाले इङ्ल्यान्डलाई हराउन सफल भयो भने समूह बी मा पाँच अंकसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्नेछ।
यदि दक्षिण अफ्रिकाले इङ्ग्ल्यान्डसँग ठूलो हार बेहोर्यो र नेट रनरेट अफगानिस्तानको भन्दा कम भयो भने अफगानिस्तान अगाडि बढ्न सक्छ। यद्यपि, दक्षिण अफ्रिकाको नेट रनरेट अफगानिस्तान भन्दा धेरै राम्रो छ। अब कुनै चमत्कारले मात्र अफगानिस्तानलाई सेमिफाइनलमा पुग्न मद्दत गर्न सक्छ।