काठमाडौं। नेपाली महिला राष्ट्रिय टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बा व्यवसायीक फुटबल खेल्न फर्किएकी छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार गोलकिपर अञ्जिला शुक्रबार कर्मथलो फर्किएकी हुन्।
घरेलु मैदानमा भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप खेल्न उनी स्वदेश फर्किएक थिइन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा बुधबार भएको फाइनलमा म्यानमारसँग नेपाल २–० ले पराजित भएसँगै उनी आफ्नो क्लब सम्हाल्न फर्किएकी हुन्।
अञ्जिलाले किर्गिस्तान र लेबनानविरुद्ध १–० को जित निकाल्दा पोस्ट सम्हालेकी थिइन्। तर, म्यानमारविरुद्धको लिग खेलमा भने मुख्य प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो रोजाइकी गोलकिपर अञ्जना रानामगरलाई गोल पोस्टको जिम्मेवारी दिएका थिए।
उक्त खेलमा नेपालले कठिन पुनरागमन गर्दै २–२ को बराबरी खेलेको थियो। फाइनलमा भने कप्तान अञ्जिला सुरुआती ११ मै फर्किएकी थिइन्। तर, उनले टोलीलाई उपाधि दिलाउन सकिनन्।
उनले निस अट्रोमिटौबाट ग्रीक महिला ‘ए’ डिभिजन खेल्दै आएकी छन्। अट्रोमिटौबाट तीन खेलमा मौका पाएकी छन्।