काठमाडौं। नेपालको लक्ष्य १५ वर्षपछि घरेलु मैदानमै भएको इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप जितेर उपाधि खडेरी तोड्ने थियो।
तर, समूहचरणमा किर्गिस्तान र लेबनानसँग समान १–० को जित अनि म्यानमारलाई ६ वर्षपछि २–२ को बराबरीमा रोकेपनि उपाधि खडेरी भने तोड्न सकेन। अर्थात फाइनलमा बाधक बन्दियो म्यानमार।
यसपल्ट म्यानमारसँग २–० ले पराजित हुँदै नेपाल उपविजेतामा सीमित भए पनि नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर रेनुका नगरकोटे भने सर्वोत्कृष्ट खेलाडी घोषित हुन पुगिन्। जुन कुराको उनी हकदार रहेको बताउँछिन् उनकै सहकर्मी तथा फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’।
‘पहिलादेखि नै डिजर्भ गर्ने खेलाडी हो। हाम्रो टिमको लेजेन्ड प्लेयर पनि हो,’ उनले भनिन्, ‘क्याप्टेनसिपमा रहेर पनि उहाँले महिला फुटबललाई ड्राइभ गर्नुभयो। पहिलादेखि नै उहाँ छायाँमा परिरहनु भएको हो।’
रेनुका सन् २०१० देखि नै महिला टोलीसँग छिन्। नेपालले यो १५ वर्षमा खेलेका अधिकांश प्रतियोगिताको फाइनलमा उनी पनि टोलीमा छिन्। तर, उनले यस्तो विशेष पुरस्कार भने जित्न सकेकी थिइन्।
यसपल्ट भने उनले आफ्नो प्रदर्शनले टोलीलाई नै निकै फाइदा पुर्याएको सावित्राको भनाइ छ। ‘उहाँले राइट टाइममा आफ्नो पफर्मेन्स पिकमा लैजानु भयो। यसले गर्दा हामीलाई सहज भयो। अर्को कुरा यो पुरस्कार पाउँदा उहाँ मात्रै होइन, हामी पनि एकदमै खुसी थियौं,’ उनले भनिन्।