काठमाडौं। एसी मिलानले पहिलो हाफको अग्रता गुमाउँदै सिरी ए को पुनर्निर्धारित खेलमा बिहीबार बोलोग्नासँग २–१ को हार बेहोरेको छ।
यस पराजयअघि मिलान च्याम्पियन्स लिगबाट बाहिरिएको थियो। गत सप्ताहन्तमा मिलान टोरोनोसँग पराजित भएको थियो।
यो हारपछि मिलानको संकट थप चुलिएको छ। टोली अंक तालिकामा आठौं स्थानमा झर्यो भने बोलोग्ना छैटौं स्थानमा उक्लिए।
राफाएल लियाओले मिलानका लागि पहिलो गोल गरेका थिए। तर, दोस्रो हाफमा बोलोग्नाका सान्टियागो कास्त्रोले फ्री किकबाट आएको बलको सदुपयोग गर्दै बराबरी गोल फर्काए। त्यसपछि खेल सकिन आठ मिनेट बाँकी छँदा ड्यान न्डोएले मिलानको कमजोर डिफेन्सको फाइदा उठाउँदै निर्णायक गोल गरे।
सन् २००२ यता पहिलो पटक बोलोग्नाले घरेलु मैदानमा मिलानलाई लिग खेलमा पराजित गरेको हो। यो खेल अक्टोबरमा हुने तय थियो। तर, एमिलिया–रोमान्या क्षेत्रमा आएको बाढीका कारण स्थगित गरिएको थियो। खेलबाट उठेको आधा रकम बाढी पीडितहरूलाई सहयोगस्वरूप प्रदान गरिएको छ।