काठमाडौं। एसिया कप २०२५ सेप्टेम्बरमा आयोजना हुने भएको छ।
आगामी टी–२० विश्वकप २०२६ लाई ध्यानमा राख्दै एसियन क्रिकेट काउन्सिल (एसिसी) ले प्रतियोगिता सेप्टेम्बर महिनामा आयोजना गर्ने योजना बनाएको हो। प्रतियोगिता टी–२० फर्म्याटमा खेलाइनेछ।
एसिसीले प्रतियोगितामा दुई टोली थप गरेको छ। यसअघि एसिसीले अन्तर्राष्ट्रिय क्रिकट परिषद् (आइसिसी) को पूर्ण सदस्य भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानलाई सिधै प्रतियोगितामा प्रवेश दिँदै आएको थियो।
यस्तै, एसिसी प्रिमियर कपमार्फत एक एसोसिएट राष्ट्रलाई छनोट गर्दै प्रतियोगितामा समावेश गर्ने गरेको थियो। तर, यसपल्ट भने एसिसीले थप दुई एसोसिएट राष्ट्रलाई पनि प्रतियोगितामा समावेश गर्ने निर्णय गरेको छ।
जसअनुसार सेप्टेम्बरको प्रतियोगितामा गत वर्ष ओमानमा भएको प्रिमियर कप विजेता संयुक्त अरब इमिरेट्स (युएई) बाहेक उपविजेता ओमान र हङकङले पनि सहभागिता जनाउने भएका छन्।
नेपाल भने यस संस्करणमा सहभागी हुने छैन। सन् २०२३ को एसिया कपमा खेलेको नेपाल यसपटक छनोट हुन असफल भएको हो। प्रिमियर कपमा हङकङसँग नेपाल चार विकेटले पराजित हुँदै चौथो भएको थियो।
युएई, ओमान र हङकङले एसिसी इमर्जिङ टिम्स एसिया कप पनि खेल्ने छ। नेपाल भने यो प्रतियोगिताबाट समेत बञ्चित हुनेछ।
एसिया कप सुरुमा भारतले आयोजना गर्ने भनिएको थियो। तर, भारत–पाकिस्तान सम्बन्धलाई ध्यानमा राख्दै एसिसीले तटस्थ स्थल रोज्ने सम्भावना बढेको छ। रिपोर्टअनुसार प्रतियोगिता श्रीलंका वा युएईमा आयोजना हुन सक्छ। आयोजकको रूपमा बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) नै रहनेछ।
प्रतियोगितामा साबिक विजेता भारत, श्रीलंका, बंगलादेश, अफगानिस्तान, युएई, ओमान, हङकङ र पाकिस्तानले प्रतिस्पर्धा गर्नेछ।
आठ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। हरेक समूहका शीर्ष दुई टोलीहरू सुपर फोरमा प्रवेश गर्नेछन्। सुपर फोरबाट शीर्ष दुई टोली फाइनलमा भिड्नेछन्।
२०२३ संस्करणको फाइनलमा भारतले श्रीलंकालाई पराजित गरेको थियो।