काठमाडौं। प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्प्टनविरुद्धको खेल इङ्ल्यान्डका स्टार कोल पाल्मरका लागि निराशाजनक रह्यो।
तर, चेल्सीका अन्य खेलाडीले आफ्नो जिम्मेवारी पूरा गर्दै उत्कृष्ट प्रदर्शन गरे ४–० को जित निकाले। योसँगै चेल्सीले तीन खेलको हारको शृंखला तोडेको छ।
क्रिस्टोफर एनकुन्कु, पेड्रो नेटो, लेभी कोलविल र मार्क कुकुरेल्लाले गोल गर्दै चेल्सीलाई जित दिलाएका हुन्। साउथह्याम्प्टनले २७ खेलबाट मात्र ९ अंक बटुलेको छ। यो नतिजासँगै प्रिमियर लिग इतिहासकै सबैभन्दा कमजोर टिममध्ये एक हुने सम्भावना बढेको छ।
पाल्मरले भने गोल गर्न सकेनन्। यस सिजन लिगमा १४ गोल गरिसकेका पाल्मरले यस पटक केही राम्रो अवसरहरू गुमाए। पहिलो हाफको बीचमा उनले गोलकिपर आरोन राम्सडेलसँग वान भर्सेस वान अवस्थामा उत्कृष्ट मौका पाए।
तर, उनले धेरै समय लिँदै ढिलो प्रहार गरे। उक्त बललाई राम्सडेलले सजिलै बचाए। दोस्रो हाफमा अर्को राम्रो मौका गुमाएपछि उनले आफैंमाथि हाँस्दै प्रतिक्रिया जनाए।
पाल्मर चेल्सीमा आएपछि यो सबैभन्दा लामो गोलरहित समय हो। सेप्टेम्बर २०२३ मा म्यानचेस्टर सिटीबाट चेल्सी आएका उनी सात खेलसम्म गोलविहीन छन्।
खेलअघिको पत्रकार सम्मेलनमा चेल्सीका प्रशिक्षक एन्जो मारेस्काले पाल्मरको स्कोरिङ लयमा आएको गिरावटको कारण टोलीले अत्यधिक रूपमा उनमा निर्भर हुनु रहेको बताएका थिए।
खेलपछि पनि उनले यही कुरालाई पुनः दोहोर्याउँदै भने, ‘उनले निरन्तर मिहिनेत गर्नुपर्छ। खुसी हुनुपर्छ अनि हाँस्नुपर्छ जस्तो उनले गर्छन्। हामी उनीसँग पूर्ण रूपमा सन्तुष्ट छौं। कहिलेकाहीँ स्कोर गर्न गाह्रो हुन्छ, तर कुनै समस्या छैन। उनले अझै धेरै गोल गर्नेछन्।’
यो जितपछि चेल्सी लिगको चौथो स्थानमा पुगेको छ। प्रिमियर लिगबाट अर्को सिजनको च्याम्पियन्स लिगका लागि सम्भावित पाँच स्थान उपलब्ध हुन सक्छ।