काठमाडौं। ललितपुर र मकवानपुर जिल्लाले प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको बागमती छनोटमा विजयी सुरुआत गरेका छन्।
माथिल्लो मूलपानी क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा ललितपुरले काठमाडौंलाई ५९ र मकवानपुरले चितवनले ७१ रनले पराजित गरेको हो।
ललितपुरले दिएको २२८ रनको लक्ष्य पछ्याएको काठमाडौं ४२.३ ओभरमा १६८ रनमै समेटियो। काठमाडौंका सोनु देवकोटाले सर्वाधिक ४० रन बनाए।
ललितपुरका सूर्य तामाङले सर्वाधिक तीन विकेट लिए।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको ललितपुरले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २२७ रन बनाएको थियो। ललितपुरका आदिल खानले सर्वाधिक ६२ रन बनाए। यस्तै, नन्दन यादवले ५४ र विवेक रानामगरले २९ रन बनाए।
काठमाडौंका कप्तान प्रतीश जिसीले सर्वाधिक पाँच विकेट लिए।
भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अर्को खेलमा मकवानपुरले चितवनलाई ७१ रनले पराजित गर्यो।
मकवानपुरले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवन ३१.४ ओभरमा ७२ रनमै समेटियो। चितवनका प्रतिक श्रेष्ठले सर्वाधिक १४ रन बनाए।
मकवापुरका साकार गजुरेलले तीन विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मकवानपुरले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै १४३ रन बनाएको थियो। मकवानपुरका सुमन सुनारले सर्वाधिक ४९ रन बनाए।
चितवनका दिपेश श्रेष्ठले चार विकेट लिए।