काठमाडौं। रचिन रवीन्द्रको सानदार शतकसँगै न्युजिल्यान्ड आइसिसी च्याम्पियन ट्रफीको सेमिफाइनलमा प्रवेश गरेको छ।
सोमबार सम्पन्न खेलमा न्युजिल्यान्डले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको हो।
जितसँगै न्युजिल्यान्ड दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ। न्युजिल्यान्डले पहिलो खेलमा पाकिस्तानलाई ६० रनले पराजित गरेको थियो।
अब समूह चरणको अन्तिम खेल भारतसँग खेल्ने छ। भारत पनि दुई खेलमा जित निकाल्दै सेमिफाइनलमा पुगिसकेको छ।
बंगलादेशले दिएको २३७ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४६.१ ओभरमा पाँच विकेट गुमाउँदै रन बनायो। न्युजिल्यान्डका रचिनले सर्वाधिक ११२ रन बनाए। १०५ बल खेलेका उनले १२ चौका र एक छक्का प्रहार गरे।
न्युजिल्यान्डले १५ रन बनाउँदा नै ओपनर विल योङ र केन विलियम्सनलाई गुमाइसकेो थियो। तर, रचिनले डेभन कन्वेसँग तेस्रो विकेटका लागि ५६ रनको साझेदारी गरे।
४५ बल खेलेका कन्वे ६ चौका प्रहार गर्दै ३० रनमा मुस्ताफिजुल रहमानबाट बोल्ड भए। त्यसपछि रचिनले टम ल्याथमसँग १२९ रनको साझेदारी गर्दै न्युजिल्यान्डलाई जितनजिक पुर्याएका हुन्।
३८.२ ओभरमा रचिन राशिद हुसेनको बलमा परवेज हुसैनबाट क्याच भएका हुन्। टम ५५ रनमा आउट हुँदा ग्लेन फिलिप्स २१ र माइकल ब्रेसवेल ११ रनमा अविजित रहे।
बंगलादेशका तास्किन अहमेद, नहिद राना, रहिम र राशिदले समान एक विकेट लिए।
त्यसअघि रावलपिण्डी क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३६ रन बनाएको थियो।
बंगलादेशका कप्तान नजमुल हुसेन शान्तोले सर्वाधिक ७७ रन बनाए। ११० बल खेलेका उनले नौ चौका प्रहार गरे। जाकर अली ४५, रिशाद हुसेन २६ र तान्जिद हसन २४ रनमा आउट हुँदा अन्य ब्याटर चल्न सकेनन्।
न्युजिल्यान्डका माइकल ब्रेसवेलले सर्वाधिक चार विकेट लिए। १० ओभर बलिङ गरेका उनले २६ रन खर्चिए। विल ओ’रोर्कले दुई विकेट लिँदा म्याट हेनरी र काइल जेमिसनको नाममा समान एक विकेट रह्यो।