काठमाडौं। चेल्सीका मुख्य प्रशिक्षक एन्जो मारेस्काले कोल पाल्मरमाथि बढी निर्भर हुँदा उनको प्रदर्शनमा असर पुगेको बताएका छन्। इङ्ल्यान्डका स्टार खेलाडी पाल्मर चेल्सीमा आएयता सबैभन्दा खराब लयमा छन्।
पाल्मरले पछिल्ला ६ खेलमा गोल गर्न सकेका छैनन्। उनको अन्तिम असिस्ट पनि १३ खेलअघि आएको थियो। उनको खराब लय चेल्सीको हालको संकटको प्रमुख कारण बनेको छ। चेल्सी इङ्लिस प्रिमियर लिगको दोस्रो स्थानबाट सातौं स्थानमा झरेको छ। पछिल्ला १० मध्ये केवल दुई खेलमा मात्र जित निकालेको टोली एफए कपबाट पनि बाहिरिसकेको छ।
पाल्मर सेप्टेम्बर २०२३ मा म्यानचेस्टर सिटीबाट चेल्सीमा अनुबन्ध भएका थिए। उक्त सिजन उत्कृष्ट प्रदर्शन गर्दै २२ लिग गोल गरेका थिए, जुन सिटीका एर्लिङ हालान्डपछि दोस्रो सबैभन्दा बढी गोल थियो। यस सिजन उनले १४ गोल गरिसकेका छन्।
तर, शनिबार एस्टन भिल्लासँग २–१ को हार भोग्दा पाल्मर आफ्ना टिममेटसँग असन्तुष्ट देखिए। ‘म उनको लयमा चिन्तित छैन,’ मारेस्काले भने, ‘म टिमको समग्र प्रदर्शनबारे चिन्तित रहन्छु। उनी पनि मानिस नै हुन्, एकै सिजनभर उत्कृष्ट लयमा रहन सकिँदैन। केही खेलमा संघर्ष हुनसक्छ।’
उनले थपे, ‘चेल्सीको समस्या भनेको लगभग सबै कुरामा पाल्मरमाथि निर्भर हो। हामीलाई टिममा निर्भर रहनुपर्छ भनेर मैले सिजनको सुरुदेखि नै भनेको थिएँ। निस्सन्देह कोलजस्तो ठूला खेलाडी आवश्यक छन्, तर हामी उनको लयबारे चिन्तित छैनौं।’
तीन लगातार पराजयपछि चेल्सीलाई मंगलबार साउथह्याम्प्टनविरुद्ध जित निकाल्ने राम्रो अवसर हुनेछ। स्टामफोर्ड ब्रिजमा हुने खेलमा जित निकाल्न सके चेल्सीले च्याम्पियन्स लिग छनोट स्थानमा फर्किने सम्भावना छ। आगामी सिजनका लागि प्रिमियर लिगका पाँच टोली च्याम्पियन्स लिगमा छनोट हुन सक्ने सम्भावना छ।
‘हालको अवस्थामा पाल्मरको प्रदर्शन टोलीकै प्रदर्शनको प्रतिबिम्ब हो। हामी गोल गर्न संघर्ष गरिरहेका छौं, मारेस्काले भने, ‘हामीले मौका पाउँदा अझ प्रभावकारी हुन आवश्यक छ। टिमले खेल जित्न नसक्दा पाल्मर निराश छन्, त्यसभन्दा बढी केही होइन।’