काठमाडौं। आइसिसी च्याम्पियन्स ट्रफीमा आइतबार भारत र पाकिस्तान आमनेसामने हुनेछन्।
रोहित शर्माको कप्तानीमा रहेको भारतीय टोली सेमिफाइनल प्रवेश गर्ने लक्ष्यमा हुनेछ। मोहम्मद रिजवानको नेतृत्वमा रहेको पाकिस्तानी टोली आफ्नो घरेलु प्रतियोगिताबाट बाहिरिने खतरा टार्ने लक्ष्यमा हुनेछ।
भारतले आफ्नो पहिलो खेलमा बंगलादेशलाई हराउँदै विजयी सुरुआत गरेको थियो। पाकिस्तानले न्युजिल्यान्डविरुद्ध पराजय भोगेको थियो। भारत र पाकिस्तान च्याम्पियन्स ट्रफीमा अन्तिम पटक सन् २०१७ को फाइनलमा भिडेका थिए, जहाँ पाकिस्तान विजयी भएको थियो। भारत अहिले त्यस हारको बदला लिन आतुर देखिन्छ।
भारत र पाकिस्तानको खेल सधैं उच्च चासोको केन्द्रबिन्दु रहन्छ। जसले प्रत्येक खेलाडीमाथि दबाब सिर्जना गर्छ। यो भिडन्त पहिलाजस्तो बहुचर्चित नभए पनि दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने ग्रुप 'ए' को खेलमा दुवै टोली सहज रूपमा मैदानमा उत्रने सम्भावना छ।
भारतीय खेलाडीले दुबईको वातावरणसँग राम्रोसँग तालमेल मिलाइसकेका छन्। पाकिस्तानको टोली न्युजिल्यान्डसँग कराँचीमा ठूलो हार बेहोरेपछि यहाँ आइपुगेको हो।