काठमाडाैं। भक्तपुर जिल्ला प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुर म्युनिसिपल क्रिकेट एसोसिएसन (बिएमसीए) ले जितेको छ।
शनिबार मूलपानी मैदानमा सम्पन्न फाइनलमा भक्तपुर क्रिकेट सेन्टरलाई ७ विकेटले पराजित गरेको हो। ११६ रनको लक्ष्य बिएमसीएले मात्र २०.२ ओभरमा तीन विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा बिएमसीएका गौरभ पौडेलले अविजित रहँदै सर्वाधिक ४९ रन बनाए। उनले ५३ बलमा चार चौका र एक छक्का प्रहार गरे।
विशाल देवकोटाले अविजित २६ रन बनाए। शौरभ साखाकर्मीले १७ रन बनाए। चौथो विकेटको लागि गौरभ र विशालले अविजित ७८ रनको साझेदारी गरे। भक्तपुरका लोकेश पालले दुई तथा त्रिशन चौलागाईले एक विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको भक्तपुर क्रिकेट सेन्टरले ३५.२ ओभरमा ११५ रनमै सबै विकेट गुमाउन पुग्यो।
भक्तपुरका दिपेन श्रेष्ठले सर्वाधिक ३४ रन बनाए। अभिषेक बस्नेतले १८ तथा समर्पण अधिकारीले १७ रन बनाए। बिएमसीएको बलिङमा सागर घिमिरेले तीन विकेट लिए।
प्लेयर अफ द फाइनल घोषित घिमिरेले ६ ओभरमा चार मेडन ओभर गर्दै चार रन मात्र खर्चिए। सक्रिय प्रताप कार्कीले दुई विकेट लिँदा धिरेन्द्र कुमार बस्नेत, मनिष श्रेष्ठ, शशांक दवाडी र सार्थक न्यौपानेले समान एक विकेट रह्यो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भक्तपुर क्रिकेट सेन्टरका बिनोद तामाङ घोषित भए। यस्तै, उत्कृष्ट बलर हिमालय स्पोर्ट्स म्यानेजमेन्टका सुमन हुमागाईं तथा उत्कृष्ट ब्याटर जनप्रेमी स्पोर्ट्स क्लबका आकाशकुमार शाह घोषित भए।
२ देखि १० गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा १२ वटा टिमको सहभागिता थियो।