काठमाडौं । इ स्पोर्ट्स संघ नेपालको आयोजनामा दोस्रो इ स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिप काठमाडौंमा बिहीबार सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले एक कार्यक्रमका बीच प्रतियोगिताको औपचारिक रुपमा उद्घाटन गरे ।
उद्घाटन सत्रलाई सम्बोधन गर्दै सदस्य सचिव घिसिङले उत्साहजनक रुपमा प्रतियोगिताले नयाँ कोशेढुङ्गा कायम गरेको बताए ।
करिब १२ हजार खेलाडी अनलाइनबाट दर्ता भएर प्रतियोगिता खेल्नु खेलकुदमा नयाँ अध्यायको सुरुवात भएको सदस्य सचिव घिसिङको भनाई थियो ।
बिहीबार राखेप कभर्डहलमा सुरु प्रतियोगिताको पहिलो दिन भ्यालोरेन्टका खेल सञ्चालन भएका छन् । शुक्रबार र शनिबार इ फुटबल, डोटा टू, पब्जी मोबाइल, मोबाइल लिजेन्ड्स र कस प्लेका खेलहरु हुनेछन् ।
इ स्पोर्ट्स संघ नेपालले २५ लाख रुपैयाँ पुरस्कार राशी राखेर दोस्रो राष्ट्रिय प्रतियोगिताको सञ्चालन गरेको छ ।
कार्यक्रमलाई नेपाल प्लेजले ब्यवस्थापन गरेको छ भने खेल हेर्न आउने दर्शकका लागि सांगेतिक प्रस्तुतीसँगै फुड स्टलहरु, फन गेम्स र मनोरञ्जनात्मक कृयाकलापलाई राखिएको छ ।
संघका अध्यक्ष अन्जन धमलाले इ स्पोर्ट्स खेलको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर नीजि क्षेत्रलाई जोडेर राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिएको बताए । उनले नीजि तथा सरकारी क्षेत्रको सहयोगबाट यस खेलले अन्तराष्ट्रिय जगतमा राम्रो नतिजा दिने बताए ।
कार्यक्रममा राखेप कार्यकारी बोर्ड सदस्य सुवर्णकेशरी श्रेष्ठ सहित बोर्ड सदस्यहरु, विभिन्न संघका पदाधिकारीहरु लगायतको उपस्थिती रहेको थियो ।