काठमाडौं। रोयल च्यालेन्जर्स बैंगलोरले रजत पाटीदारलाई कप्तानमा नियुक्त गरेको छ। टोलीका स्टार ब्याटर विराट कोहलीलाई पुन: कप्तानी जिम्मेवारीमा फर्काइने अड्कलबाजी गरिएको थियो, तर त्यस्तो भएन। बैंगलोरले बिहीबार रजतलाई उक्त जिम्मेवारी दियो।
बैंगलोरले कोहलीको एउटा भिडियो पोस्ट गरेको छ। उक्त भिडियोमा विराटले पाटीदारलाई बधाई दिएका छन्। उनले भनेका छन्, ‘म र टोलीका अन्य सदस्य तिमीसँगै छौं, रजत। यस फ्रान्चाइजीमा तिमीले जुन तरिकाले प्रगति गरेका छौं र प्रदर्शन गरेका छौं त्यसले गर्दा सबै बैंगलोरका समर्थकले मन पराउँछन्। तिमी यसको योग्य छौ।’
३१ वर्षीय रजतले फाफ डु प्लेसिसको स्थान लिनेछन्। डु प्लेसिसले सन् २०२२ देखि २०२४ सम्म बैंगलोरको कप्तानी गरेका थिए। तर, बैंगलोरले यसपल्ट उनलाई ‘रिटेन’ गरेन। रजत २०२१ देखि टोलीमा छन्। रजतलाई भने बैंगलोरले मेगा अक्सन–२०२४ अगाडि नै रिटेन गरेको थियो। रजतले २०२४–२५ को सय्यद मुश्ताक अली ट्रफी र विजय हजारे ट्रफीमा मध्य प्रदेशको कप्तानी गरिसकेका छन्।
सैयद मुश्ताक अली ट्रफीमा उनले मध्य प्रदेशलाई फाइनलमा पुर्याएका थिए। फाइनलमा टोली मुम्बईसँग पाँच विकेटले पराजित भयो। रजतले ८१ रनको अविजित इनिङ्स खेले पनि आफ्नो टोलीलाई च्याम्पियन बनाउन सकेनन्।
रजतले यस सिजनमा नौ खेलमा ६१.१४ को औसतमा ४२८ रन बनाए। उनी अजिंक्य रहाणेपछि सर्वाधिक स्कोरर हुन्। रहाणेले आठ खेलमा ४६९ रन बनाएका छन्।
रजतले २७ आइपिएल खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७९९ रन बनाएका छन्। उनको नाममा एक शतक र सात अर्धशतक पनि छन्।