काठमाडौं। अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले व्यक्तिगत कारणले च्याम्पियन्स ट्रफीबाट नाम फिर्ता लिएका छन्।
क्रिकेट अस्ट्रेलियाले १५ खेलाडीको नयाँ सूची जारी गरेको छ। जनवरी १३ मा घोषणा गरिएको टोलीमा पाँच परिवर्तन गरिएको छ।
नियमित कप्तान प्याट कमिन्सको अनुपस्थितिमा स्टिभ स्मिथलाई टोलीको जिम्मेवारी दिइएको छ। प्याट कमिन्स, जोश हेजलवुड र मिचेल मार्शको चोट र मार्कस स्टोइनिसको सन्न्यासका कारण अस्ट्रेलियाले पहिले नै टोलीमा केही परिवर्तन गर्नुपरेको थियो।
स्टार्क बाहिरिएसँगै अस्ट्रेलियाले फेब्रुअरी १९ देखि पाकिस्तान र युएईमा आयोजना हुने प्रतियोगिता फ्रन्टलाइन पेसरबिना नै खेल्ने भएको छ।
अस्ट्रेलियाको समूहमा इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका र अफगानिस्तान पनि छन्। अस्ट्रेलियाले बुधबार र शुक्रबार कोलम्बोमा श्रीलंकाविरुद्ध दुई एकदिवसीय खेल खेल्दै च्याम्पियन्स ट्रफीको तयारी गर्नेछ।
अस्ट्रेलियाले फेब्रुअरी २२ मा इङ्ग्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ। त्यसपछि दक्षिण अफ्रिका (फेब्रुअरी २५) र अफगानिस्तान (फेब्रुअरी २८) सँग खेल्नेछ।
अस्ट्रेलियाको टोली:
स्टिभ स्मिथ (कप्तान), शन एबोट, एलेक्स केरी, बेन द्वारशिस, नाथन एलिस, जेक फ्रेजर-म्याकगर्क, आरोन हार्डी, ट्राभिस हेड, जोश इन्ग्लिस, स्पेन्सर जोनसन, मार्नस लाबुस्चेन, ग्लेन म्याक्सवेल, तनवीर संघा, म्याथ्यू सर्ट, एडम जाम्पा। ,