काठमाडौं। भारतीय क्रिकेट टोलीका प्रमुख तीव्र गतिका बलर जसप्रीत बुमराहले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्।
बुमराहको स्थानमा हर्षित राणालाई भारतीय टोलीमा समावेश गरिएको छ। यससँगै दायाँ हाते स्पिनर वरुण चक्रवर्तीलाई पनि च्याम्पियन्स ट्रफीको लागि भारतीय टोलीमा समेटिएको छ।
सन् २०२२ पछि बुमराहले गुमाउने यो दोस्रो आइसिसीको प्रतियोगिता हो। यसअघि उनले ढाडको चोटका कारण सन् २०२२ को टी–२० विश्वकप खेल्न सकेका थिएनन्।
बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई)ले बुमराहलाई ढाडको चोटका कारण च्याम्पियन्स ट्रफीबाट बाहिरिएको बताएको छ। पुरुष छनोट समितिले उनको स्थानमा हर्षितको नाम दिएको छ। च्याम्पियन्स ट्रफीका लागि प्रस्तावित भारतीय टोलीमा यशस्वी जयसवालको स्थानमा वरुणलाई समावेश गरिएको छ।
यद्यपि, जयसवाललाई ट्राभलिङ रिजर्भमा समावेश गरिएको छ। उनीसँगै मोहम्मद सिराज र शिवम दुबेको नाम पनि ट्राभलिङ रिजर्भमा छ।
च्याम्पियन्स ट्रफीअघि अन्तिम टोली सूची जारी गर्न आइसिसीले तोकेको समयसीमा फेब्रुअरी ११ थियो। त्यसपछि टोलीमा कुनै पनि परिवर्तनको लागि आइसिसी प्राविधिक समितिको स्वीकृति आवश्यक पर्दछ।
बुमराहको स्थानमा आएका हर्षितले हालै इङ्ग्ल्यान्डविरुद्धको एकदिवसीय शृंखलाबाट डेब्यू गरेका थिए।
भारतीय टोली :
रोहित शर्मा (कप्तान), शुभमन गिल (उपकप्तान), विराट कोहली, श्रेयस अय्यर, केएल राहुल (विकेटकीपर), ऋषभ पन्त (विकेटकीपर), हार्दिक पाण्ड्या, अक्षर पटेल, वाशिंगटन सुन्दर, कुलदीप यादव, हर्षित राणा, मोहम्मद शमी, अर्शदीप सिंह, रवीन्द्र जडेजा, वरुण चक्रवर्ती
ट्राभलिङ रिजर्भ :
मोहम्मद सिराज, यशस्वी जयसवाल, शिवम दुबे