काठमाडौं। भारतीय कप्तान रोहित शर्मा फेरि फर्ममा फर्किएका छन्। इङ्ग्ल्यान्डविरुद्धको दोस्रो एकदिवसीय खेलमा आइतबार उनले ९० बलमा ११९ रन बनाए।
एकदिवसीय क्रिकेटमा यो उनको ३२औं शतक थियो। यो इनिङसँगै रोहितले ती सबै आलोचकहरूलाई पनि उचित जवाफ दिए, जसले भनिरहेका थिए– अब उनीमा क्रिकेट खेल्न सक्ने क्षमता बाँकी नै छैन।
यति मात्र होइन, च्याम्पियन्स ट्रफी अघि उनी फर्ममा आउनु भारतीय टोलीको लागि खुसीको खबर हो। उनको इनिङ्सको मद्दतले भारतले ३०५ रनको लक्ष्य ४४.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो।
कटकमा भएको खेलमा ‘हिटम्यान’ कुनै पनि प्रकारको दबाबमा देखिएनन् र चौका र छक्काको वर्षा गरे। हिटम्यान आफ्नो पुरानो शैलीमा देखिए।
‘म जे गर्दै थिएँ त्यही गर्नुपर्छ भन्नेमात्रै मेरो दिमागमा थियो। म जसरी ब्याटिङ गर्दै आएको छु, त्यसरी नै ब्याटिङ गर्ने प्रयास गरिरहेको थिएँ। एक वा दुई इनिङ्सको खराब ब्याटिङले मलाई हतोसायी गर्दैन,’ उनले भने।
क्रिकेटमा प्रायः नर्भस ९० को चर्चा हुन्छ। भनिन्छ कि ९० रन बनाएपछि ब्याट्सम्यान दबाबमा पर्छ। तर, रोहितमाथि त्यस्तो कुनै दबाब देखिएन। ९६ रनमा हुँदा उनले आदिल रशिदको बलिङमा छक्का प्रहार गरे र आफ्नो शतक पूरा गरे।
शतक प्रहार गरेपछि पनि आक्रामक तरिकाले उत्सव मनाएनन् र चुपचाप ब्याट उठाएर दर्शकहरूलाई धन्यवाद दिए। यसले त्यो क्षण उनी कति भावुक थिए भन्ने प्रष्ट देखाउँछ। यो क्षणको भिडियो पनि बाहिर आएको छ। यो भिडियो सेयर गर्दै पञ्जाब किंग्सले लेखेको छ– नर्भस ९०? त्यो के हो?
खेलपछि रोहित भावुक पनि देखिए। न्युजिल्यान्डविरुद्धको घरेलु टेस्ट शृंखला र अस्ट्रेलिया भ्रमणमा असफल भएपछि उनको सन्न्यासबारे अड्कलबाजी सुरु भएको थियो। यद्यपि, उनी आफैंले उक्त कुरा नकारे।
उनले भनेका थिए, ‘अर्को पाँच–छ महिनामा परिस्थिति परिवर्तन हुन सक्छ। तर, के हुन्छ कसैलाई थाहा छैन। अब उनको भनाइ साँचो हुँदै गएको देखिन्छ।’ उनी फर्ममा फर्किएका छन् र उनी यसमा सबैभन्दा खुसी हुनेछन्।
यद्यपि, खेलपछि पनि उनी धेरै शान्त देखिन्थे र सबै प्रश्नहरूको सहज जवाफ दिए। उनले आफ्नो ३२औं एकदिवसीय शतकलाई अर्को दिनको रूपमा वर्णन गरे र भने, ‘केवल एक इनिङ्सले केही परिवर्तन गर्दैन।’
रोहितले ९० बलमा १२ चौका र सात छक्काको मद्दतले ११९ रनको इनिङ्स खेले। ‘म यही कुरा गर्दैछु। मेरो मतलब कुनै क्रिकेटरले धेरै वर्षदेखि खेलिरहेको छ र वर्षौंदेखि यति धेरै रन बनाउँदै आएको छ भने उसमा केही न केही छ। मैले यो खेल लामो समयदेखि खेल्दै आएको छु र मलाई के चाहिन्छ भनेर म बुझ्छु। त्यसैले मेरो काम भनेको मैदानमा गएर आफ्नो भूमिका निर्वाह गर्नु हो। आज मैले जे गरें त्यो यी मध्ये एक थियो,’ उनले भने।