काठमाडौं। अर्जुन ट्रफीको उपाधिका लागि फ्रेन्ड्स युथ क्लब डडेलधुरा र सिवाइसी अत्तरिया भिड्दैछन्।
यी दुईबीचको खेल कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा १२:१५ मा हुनेछ।
सन्दीप जोराको कप्तानीमा रहेको फ्रेन्ड्सले पहिलो सेमिफाइनलमा न्यु होराइजन बुटवललाई पाँच विकेटले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो।
अत्तरियाले भने डिसिए धनगढीलाई ६ विकेटले पाखा लगाउँदै फ्रेन्ड्ससँगको भेट पक्का गरेको हो। फ्रेन्ड्समा सन्दीपबाहेक विनोद भण्डारी र कुशल भुर्तेलजस्ता राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी छन्।
यस्तै, किरण ठगुन्ना र हेमन्त धामीले नेपाली ए टोलीबाट खेलिसकेका छन्। नेपाली राष्ट्रिय टोलीका ओपनरसमेत रहिसकेका कुशलले बलिङ र ब्याटिङ दुवैबाट टोलीलाई महत्त्वपूर्ण योगदान दिइरहेका छन्।
उनले बलिङमा सर्वाधिक १२ विकेट लिएका छन्। ब्याटिङमा भने चार इनिङ्समा १४८ रन बनाएका छन्, जुन सर्वाधिक रनकर्ताको सूचीमा शीर्ष स्थानमा रहेका भीम सार्कीको भन्दा एक रन मात्रै कम हो।