काठमाडौं। दक्षिण अफ्रिकाका तीव्र गतिका बलर एनरिक नोर्टजेले च्याम्पियन्स ट्रफी गुमाउने भएका छन्। उनी घाइते भएसँगै अलराउन्डर कोर्बिन बोशलाई टोलीमा समेटिएको छ। उनलाई पाकिस्तानविरुद्धको जारी त्रिकोणीय शृंखलाको लागि पनि टोलीमा समावेश गरिएको छ।
३० वर्षीय बोशले डिसेम्बर २०२४ मा पाकिस्तानविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका थिए। त्यसपछि उनले बक्सिङ डे टेस्टमा पाकिस्तानविरुद्धको टेस्टमा अविजित ८४ रन बनाउँदै पाँच विकेट लिए।
उनले हालै साउथ अफ्रिका २० मा उत्कृष्ट बलिङ गर्दै आठ खेलमा १७.३६ को औसतमा ११ विकेट लिएका थिए। उनको टोली मुम्बई केप टाउनले नै उपाधि जितेको छ।
युवा तीव्र गतिका बलर क्वेना म्फाकालाई पनि दक्षिण अफ्रिकी टोलीमा रिजर्भ खेलाडीको रूपमा थपिएको छ। दुवै खेलाडी ओपनर टोनी डिजर्जसँगै आइतबार कराँची प्रस्थान गरिसकेका छन्।
दक्षिण अफ्रिकी टोली आफ्ना तीव्र बलरहरूको चोटपटकको समस्यासँग जुधिरहेको छ। नोर्टजेबाहेक, गेराल्ड कोएत्जी, बेउरन हेन्ड्रिक्स र लिजाड विलियम्स पनि घाइते छन्। दक्षिण अफ्रिकी टोलीले त्रिकोणीय शृंखला र च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानी पूर्वअलराउन्डर यासिर अराफातलाई सल्लाहकार नियुक्त गरेको छ।