काठमाडौं। राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको नेपाली महिला टोलीले किर्गिस्तानको सामना गर्दै ‘इन्टरनेसनल वुमेन्स च्याम्पियनसिप’को सुरुआत गर्नेछ। यस क्रममा नेपालको एउटै लक्ष्य हुनेछ, उपाधि खडेरी तोड्ने।
पछिल्ला १४ वर्षमा १२ प्रतियोगिताका फाइनल खेल्दै महिला टोलीले नेपाली फुटबल इतिहासमा कीर्तिमान कायम गरेको छ। तर, यो असाधारण कीर्तिमान पनि उपाधिविहीन कथामा सीमित छ।
यद्यपि, त्रिपुरेश्वरेश्वरस्थित दशरथ रंगशालामा हुने च्याम्पियनसिपमा उक्त असफल कथाको कहानी सफलतामा परिणत गर्ने सुनौलो अवसर नेपाललाई जुरेको छ। तर, के त्यसो गर्न नेपाल सक्षम छ त?
मुख्यप्रशिक्षक राजेन्द्र भन्छन्, ‘प्रतिद्वन्द्वी बलिया छन्, हामीलाई गाह्रै हुन्छ। तर, आत्तिनुपर्ने अवस्था छैन। हाम्रो टोलीमा पनि विदेशी लिगको अनुभव बटुलिसकेका खेलाडी छन्।’
च्याम्पियनसिपमा नेपाल र किर्गिस्तानबाहेक लेबनान र म्यानमारले सहभागिता जनाउँदै छ। यी तीन पाहुना टोली नेपालका लागि अपरिचित होइन। यी टोलीलाई नेपालले विभिन्न समयमा चुनौती पेस गरिसकेको छ।
फिफा विश्व वरीयतामा १३४औं स्थानमा रहेको किर्गिस्तानलाई नेपालले सन् २०१९ मा नाडेज्दा कपमा उसकै घरेलु मैदानमा ८–२ ले पराजित गरेको थियो। १२८औं वरीयतामा रहेको लेबनानलाई नेपालले गत वर्ष साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको सेमिफाइनललाई २–१ ले हराएको थियो।
यस्तै, ५५औं वरीयतामा रहेको म्यानमारलाई भने नेपालले अहिलेसम्म पराजित गर्न सकेको छैन। सन् २००९ मा भएको पहिलो भेटमा यी दुई टोलीले १–१ को बराबरी खेलेका थिए। त्यसपछि उज्बेकिस्तानमा भएको अर्को भेटमा भने नेपाल ३–१ ले पराजित भयो।
त्यसैले अहिले सबै टोलीलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरेको उनले बताए। यद्यपि, फुटबलमा विगतको नतिजा र वरीयताले खासै फरक पार्ने छैन। यो कुरा पछिल्ला दुई साफको फाइनलले पनि प्रमाणित गरिसकेको छ।
विश्व वरीयतामा १४०औं स्थानमा रहेको बंगलादेशले १०३औं स्थानको नेपाललाई पराजित गर्दै लगातार उपाधि चुमेको थियो। अर्कोतर्फ नेपालले सेमिफाइनलमा पराजित गरेको भारतीय टोलीले म्यानमारलाई ३–३ र १–१ गोलको बराबरीमा रोकेको तथ्य छ। यद्यपि, घरेलु मैदान र विदेशी लिग खेलेको अनुभवी खेलाडीको फाइदा लिने योजनामा देखिन्छन्, राजेन्द्र।
‘हामीलाई फाइदा हुने भनेको मैदान हो। हाम्रो मैदान सरफेस छैन। अर्कोतर्फ हाम्रो तीन खेलाडी पनि बाहिर छन्। त्यसले फाइदा पुर्याउँछ,’ उनले भने।
नेपाली टोलीकी कप्तान अञ्जिला तुम्बाप्पो सुब्वा ग्रीसबाट व्यावसायिक लिग खेल्दै आएकी छन्। दक्षिण एसियाकै ‘नम्बर वान’ स्ट्राइकर सावित्री भण्डारी ‘साम्बा’ फ्रेन्च लिगमा आबद्ध छिन्।
नेपाललाई साफ फाइनलमा पुर्याउन एक ह्याट्रिकसहित सात गोल गरेकी रेखा पौडेलले भने संयुक्त अरब इमिरेट्स (युएई)को लिग खेलिरहेकी छन्।
‘स्ट्रोङ पोइन्ट भनेकै स्ट्राइकर हो। माथि राम्रो स्ट्राइकर छ भने तल डिफेन्समा डराएर खेल्नुपर्ने अवस्था हुँदैन। हामीसँग दक्षिण एसियाको र आवुधवीमा खेलिरहेको टप स्ट्राइकर छ। साम्बालाई रोक्न सानोतिनो पावरले पुग्दैन, त्यो भारतसँगको खेलमा देखिसक्यौं,’ राजेन्द्र भन्छन्।
साफ च्याम्पियनसिपको सेमिफाइनलमा १–० ले पछाडि रहेको अवस्थामा साम्बाले प्रीति राईको पासमा भारतीय दुई डिफेन्डरलाई बिट गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन्। त्योसँगै नेपालले पेनाल्टी सुटआउटमा ४–२ को जित निकाल्दै छैटौंपल्ट साफको फाइनलमा स्थान बनाएको थियो।
नेपाली टोलीको संकटमोचकका रूपमा रहेकी उनले अन्तर्राष्ट्रिय फुटबल करियरमा ५५ गोल पूरा गरिसकेका छन्। त्यसैले नेपालभन्दा पनि विपक्षी टोली डराएर खेल्नुपर्ने राजेन्द्र बताउँछन्। ‘तर, कहिले काहीँ त चुक्छ। त्यसैले विपक्षी खेलाडीको व्यक्तिगत प्रदर्शनलाई हेरेर हामीले योजना बनाउनुपर्छ,’ उनी भन्छन्।
अञ्जिला र रेखा माघ २९ गते स्वदेश फर्किने छन्। सावित्रा भने फागुन दुई गतेदेखि मात्रै फर्किने तय छ। अञ्जिला र रेखाले किर्गिस्तानसँगको पहिलो खेल खेल्ने सम्भावना छ। तर, सावित्राले भने उक्त खेल गुमाउने लगभग निश्चित छ।