आफ्नै ‘आइडल’ अनुको रेकर्ड तोड्दै साम्बा

काठमाडौं। नेपाली टिमकी पूर्वकप्तान अनु लामाले आफ्नो नाममा रहेका गोलका कीर्तिमान एकपछि अर्को गर्दै सावित्रा भण्डारी ‘साम्बा’ले तोड्दा खुसी लागेको बताएकी छन्।
एक बेला नेपालको अग्रपंक्तिका खेल्दै सनसनी मच्चाएका अनु र अर्की पूर्वकप्तान जमुना गुरुङलाई ‘आइडल’ को रूपमा सम्मान गर्छिन् साम्बा। नेपालको लागि सर्वाधिक गोलमा अनुले जमुनाको रेकर्ड तोडेकी थिइन्। त्यसपछि अनुको रेकर्ड उछिन्दै साम्बा सर्वाधिक गोलकर्ता बनेकी हुन्।
‘मैले साफमा नेपालको लागि सबभन्दा धेरै २१ गोल गरेकी थिएँ,’ अनुले भनिन्, ‘गोलको मेरो रेकर्ड पछ्याइरहेकी साम्बा नै हुन्। नेपालको लागि धेरै गोल गरिसकेकी छन्। सेमिफाइनलमा भारतविरुद्ध गोल गर्दै साफको मेरो रेकर्ड पनि बराबरी गरेकी छन्। उनले अझ धेरै गर्न सक्छिन्। फाइनलमा बंगलादेशविरुद्ध गोल गरेर रेकर्ड ब्रेक गर्दै नेपाललाई च्याम्पियन बनाएको हेर्न चाहना छ।’
नेपालले पहिलोपल्ट साफ महिला च्याम्पियनसिप ५ वर्षअघि विराटनगरमा आयोजना गरेको थियो, जसको अन्तिम तयारीसम्म रहेकी अनु प्रशिक्षक हरि खड्काले सम्हालेको नेपाली टिममा स्थान बनाउन असफल भइन्। र, तत्कालै अनुले अन्तर्राष्ट्रिय करिअरबाट सन्न्यास घोषणा गरिदिइन्।
सर्वाधिक ३५ गोलको कीर्तिमान बनाएको अवस्थामा अनुले बुट थन्क्याएकी थिइन्। त्यस बेला स्टार स्ट्राइकर स्थापित भइसकेकी सावित्रा भण्डारी ‘साम्बा’ले २२ गोल गरेकी थिइन्। साम्बाले त्यही वर्ष नाडेज्दा कपमा अनुको रेकर्ड बराबरी गरिन्। र, डिसेम्बर, २०१९ मै पोखरामा (१३औं दक्षिण एसियाली खेलकुद) अनुलाई उछिनेकी थिइन्।
साम्बाले साफ महिला च्याम्पियनसिप २०२४ को सेमिफाइनलमा भारतविरुद्ध गोल गरेपछि १–१ को बराबरी गर्दै नेपालले टाइब्रकेरमा जित रच्दै आइतबार फाइनलमा स्थान बनायो। यससँगै साम्बाले साफमा अनुको रेकर्ड बराबरी गर्दै आफ्नो गोल संख्या पनि ५५ पुर्याएकी हुन्।
फाइनलमा गोलको अपेक्षा
रेखा पौडेलले दोस्रो पहेंलो कार्ड पाएपछि भारतविरुद्ध साम्बाको आक्रामक खेलले नेपाली टिमलाई फाइदा पुगेको पनि अनु बताउँछिन्। डिफेन्डिङ च्याम्पियन बंगलादेशविरुद्ध बुधवार हुने फाइनलबारे उनले भनिन्, ‘सेमिफाइनलमा जस्तै खेल्यो भने साम्बाले फाइनलमा पनि गोल गर्छिन् भन्ने लाग्छ। यसपालि उपयुक्त समय र मौसम पनि छ। बंगलादेशविरुद्ध दुई वर्षअघि फाइनलमा बेहोरेको हारको बदला लिँदै यसपालि नेपालले साफको उपाधि जित्छ जस्तो लाग्छ मलाई।’
अनु र साम्बाले एपीएफ क्लबबाट धेरै वर्ष सँगै खेलेका पनि छन्। सन् २०१४ मा इस्लामावादमा भएको साफ च्याम्पियनसिपको समूह चरणको अन्त्यतिर अनुकै स्थान लिँदै साम्बाले अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी थिइन्। भुटानविरुद्धको उक्त खेलमा अनुले २ गोल गरेपछि मैदान छाडेकी थिइन् भने साम्बाले पनि डेब्यु गोल ८८ औं मिनेटमा गरेकी थिइन्।
साम्बाको खेलबारे अनु भन्छिन्, ‘त्यो बेला साम्बाले कोचसँग भर्खरै फुटबल सिक्न पाएको थियो। उनको स्पिड राम्रो थियो। अलि दिमाग लाएर खेल्नुपर्ने अवस्था थियो। यो १० वर्षमा उनले कमजोरीहरू सुधार गरेर धेरै राम्रो खेल बनाएकी छन्। भारत, माल्दिभ्स, इजरायल र फ्रान्सको अनुभवसँगै फुटबलमा हुनुपर्ने ज्ञान लिँदै धेरै उत्कृष्ट खेलाडी भएकी छन्।’
उनी थप्छिन्, ‘साम्बाको फुटबलप्रति क्रेजी, माया गर्ने देख्दा केही गर्छ है भन्ने लाग्थ्यो। जमुना र म आइडल भनेपछि हामीबाट पनि धेरै कुरा सिक्यो। सीआर७ बाट धेरै सिकेको हुनुपर्छ। उनले घामपानी, चाडबाड, परिवार केही नभनी कम्प्रमाइज गरेर खेल सिकेकी छन्। उनले चाहेको पुराएर छाड्छिन् भन्ने भोक पहिल्यैदेखि थियो।’
अनुले साफ महिलाका सुरुआती तीन संस्करण खेलेकी थिइन् भने साम्बा सन् २०१० यता निरन्तर नेपालको अग्रपंक्ति सम्हालिरहेकी छन्।








-1763853774420.webp&w=3840&q=75)



-1763794837011.jpeg&w=3840&q=75)
