काठमाडौं। इशान पाण्डेको अलराउन्ड प्रर्दशनसँगै ग्रेट हिमालय क्रिकेट एकेडेमी प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोटको फाइनलमा पुगेको छ।
शनिबार सम्पन्न दोस्रो तथा अन्तिम सेमिफाइनलमा ग्रेट हिमालयले न्यु भिजन क्लबलाई ३७ रनले पराजित गरेको हो। ग्रेट हिमालयले उपाधिका लागि क्रिकेट एक्सिलेन्स सेन्टरलाई चुनौती पेस गर्नेछ। क्रिकेट एक्सिलेन्सले महावीर क्लबलाई चार रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।
ग्रेट हिमालयले प्रस्तुत गरेको १४९ रनको लक्ष्य पछ्याएको न्यु भिजन १११ रनमै समेटियो। न्यु भिजनका जभ्याङ लामाले सर्वाधिक ४६ रन बनाए। मोन्सन सिंहले ३१ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
ग्रेट हिमालयका किरणबहादुर मगरले पाँच र इशान पाण्डेले दुई विकेट लिए।
त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको ग्रेट हिमालयले ३६ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो।
ग्रेट हिमालयनका इशान पाण्डेले सर्वाधिक ६६ रन बनाए। क्रृतिन अधिकारी १९ र विराज अघिकारी १५ रनमा आउट भए। न्यु भिजनका मोन्सन सिंहले सर्वाधिक पाँच विकेट लिए।