काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी युवा अलराउन्डर पूजा महतोले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखलामा स्कुटर जितेकी छन्।
नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डसम्मिलित शृंखलामा उत्कृष्ट नेपाली खेलाडी घोषित हुँदै उनले स्कुटर हात पारेकी हुन्। शुक्रबार भएको अन्तिम खेलमा पाहुना टोली थाइल्यान्डसँग सात विकेटले पराजित हुँदै नेपालले शृंखला सक्कायो। थाइल्यान्डसँगको अघिल्ला दुई भेटमा नेपाल चार विकेट र पाँच रनले पराजित भएको थियो। नेदरल्यान्ड्ससँग भने नेपालले २० रन, १५ रन र १० विकेटको हार बेहोर्यो।
नेपाल जितविहिन रहे पनि पूजाले उत्कृष्ट प्रदर्शन गरिन्। उनी नेपालका लागि सबै बढी रन लिने खेलाडी हुन्। उनले शृखलाका ६ खेलमा एक अर्धशतकसहिच १३४ रन बनाइन्। बलिङतर्फ उनले तीन विकेट लिइन्।
पूजाले नेदरल्याण्ड्सविरुद्धको खेलमा अविजित ६२ रन बनाएकी थिइन्। शृंखलाको सर्वोत्कृष्ट खेलाडी थाइल्यान्डकी थिप्चा पुत्थावोन्ग भइन्। उनले ६ खेलमा १६ विकेट लिइन्।