काठमाडौं। घरमै उपाधि रक्षा गर्ने लक्ष्यसाथ नेपाली राष्ट्रिय महिला टोलीले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० शृंखला सुरुआत गरेको थियो। तर, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार शृंखलाका ६ वटै आफ्नो खेल सक्काउँदा पनि नेपालले एक जितपनि निकाल्न सकेन।
शुक्रबार भएको अन्तिम खेलमा पनि नेपाल पाहुना टोली थाइल्यान्डसँग नेपाल सात विकेटले पराजित हुँदै शृंखला सक्कायो। थाइल्यान्डसँगको अघिल्ला दुई भेटमा नेपाल चार विकेट र पाँच रनले पराजित भएको थियो। नेदरल्यान्ड्ससँग भने नेपालले २० रन, १५ रन र १० विकेटको हार बेहोर्यो।
यद्यपि, शृंखलामा राम्रो प्रदर्शन गरेको नेपाली कप्तान इन्दु बर्माले जिकिर गरिन्। ‘समग्रमा हामीले राम्रो खेलेको हो। दुई वर्षअघि थाइल्यान्डसँगकै कुरा गर्ने हो भनेपनि हामी ४०/६० मै अलआउट हुन्थ्यौं,’ उनले भनिन्। तर, अहिलेको शृंखलाका ६ मध्य पाँच खेलमा १०० स्कोर कटाएकोमा उनले आफ्नो टोलीको उत्कृष्ट प्रदर्शन मानिन्।
नेदरल्यान्ड्ससँगको खेलमा नेपालले १३७, १२५ र १४५ रन बनाएको थियो। यस्तै, थाइल्यान्डसँग भने नेपालले दुईपल्ट समान १०१ र एकपल्ट ८१ रन बनाएको थियो। ‘दुई चार वर्षअगाडि थाइल्यान्डसँग ५०/६० मा अलआउट हुन्थेउ भने अहिले त राम्रो क्रिकेट खेलिरहेका हौं,’ उनले भनिन्।