रुपन्देही। एक्स्ट्राटेक ओभल क्रिकेट स्टेडियम एक महिनाभित्र फ्लड लाइट जडान सुरु भएको छ। स्टेडियमका एमडी विनोद कुँवरले शुक्रबार उक्त जानकारी दिएका हुन्।
योसँगै एक महिनापछि ‘डे नाइट म्याच’ खेलाउन सकिने उनले जानकारी दिए। ‘आजदेखि स्टेडियममा फ्लड लाइट जडानको काम हुन गइरहेको छ। अबको एक महिनाभित्र फ्लड लाइट पूर्ण रूपमा जडान भइसक्ने छ। त्यसपछि डे नाइट म्याच खेलाउन सकिने छ,’ उनले भने।
२०८० साल जेठ २९ गते शिलान्यास भएको स्टेडियमको मैदान सोही सालको फागुनमै खेल्न भइसकेको थियो। फागुन २८ मा मैदानको उद्घाटनसहित लिजेन्ड्स कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो। त्यसयता एक सयभन्दा बढी खेल यो मैदान भइसकेको उनले बताए।
यु–१९ महिला विश्वकप खेलेको टोली र नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज लुम्बिनी लायन्सले यही मैदानमा अभ्यास गरेको थियो। भारतबाट पनि केही क्लबस्तरीय टिम आएर यो मैदानमा खेलेको उनले जानकारी दिए।
उनका अनुसार अहिले स्टेडियममा नेट प्राक्टिसका लागि पनि छुट्टै पिच तयार गर्ने भइरहेको छ, जुन अन्तिम चरणमा छ । ‘मैदानका साथसाथै अरू भौतिक संरचना निर्माणको काम पनि अघि बढिरहेको छ। चार–चार तलाको दुई वटा भवन, भिआइपी बक्स, प्लेयर बक्स, चेञ्जिङ रुम र मिडिया बक्स बनाइरहेका छौं । अहिले तेस्रो तलाको काम भइरहेको छ। तत्काल कुनै प्रतियोगिता आयोजना भए भिआइपी बक्सबाट बसेर खेल हेर्न सकिने अवस्थामा हामी छौं,’ कुँवरले भने।
यसपछि पारापिट निर्माणको कामलाई तीव्रताका साथ अघि बढाउने लक्ष्य रहेको उनले सुनाए।