काठमाडौं। घरेलु टोली नेपालले त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय टी–२० क्रिकेट शृंखलाको अन्तिम खेलमा शुक्रबार थाइल्यान्डको सामना गर्दैछ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल अपराह्न १२:१५ बजे सुरु हुनेछ। थाइल्यान्डसँगको तेस्रो भेटमा नेपाल सान्त्वना जितसँगै शृंखला अन्त्य गर्ने लक्ष्यमा हुनेछ। नेपाल शृंखलाका पाँचै खेलमा जितविहीन छ।
पाहुना टोली थाइल्यान्डसँगका अघिल्ला दुई भेटमा नेपाल चार विकेट र पाँच रनले पराजित भएको थियो। नेदरल्यान्ड्ससँग २० रन, १५ रन र १० विकेटको हार बेहोरेको थियो।
थाइल्यान्ड भने नेपाललाई पराजित गर्दै उपाधि हत्याउने लक्ष्यमा हुनेछ। थाइल्यान्डले नेपालबाहेक नेदरल्यान्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो। एक खेलमा भने थाइल्यान्डले एक विकेटको पराजय बेहोरेको थियो।