काठमाडौं। विनोद भण्डारीको अर्धशतकका बाबजुद फ्रेन्ड्स क्लब डडेलधुरा अर्जुन ट्रफीमा पराजित भएको छ। बिहीबार सम्पन खेलमा डडेलधुरामाथि घोडाघोडी ११ ले एक विकेटको जित निकालेको हो।
यद्यपि, डडेलधुरा तीन खेलबाट चार अंक बटुल्दै सेमिफाइनल पुगिसकेको छ। डिसिए धनगढीले पनि समान अंकसहित सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ। घोडाघोडी ११ र बोस्टन क्रिकेट झापाले भने समान दुई अंक जोड्दै प्रतियोगिता टुंगायो।
डडेलधुराले प्रस्तुत गरेको १२५ रनको लक्ष्य घोडाघोडी ११ ले एक बल बाँकी छदा नौ विकेट गुमाएर पूरा गर्यो।
घोडाघोडी ११ का आयुव चन्दले सर्वाधिक ३३ रन बनाए। २४ बल खेलेका उनले एक चौका र दुई छक्का प्रहार गरे। योगेश भट्ट २०, टेक रावत र शेर मल्लले अविजित १८ रन बनाए।
डडेलधुराका हेमन्त धामीले सर्वाधिक तीन विकेट लिए। त्यसअघि पहिला ब्याटिङ थालेको डडेलधुराले विनोदको अर्धशतकमा आठ विकेट गुमाउँदै १२४ रन बनाएको थियो।
विनोदले अविजित रहँदै ५६ रन बनाए। ४७ बल खेलेका उनले दुई चौका र चार छक्का प्रहार गरे। कुशल भुर्तेल १३ र आयुषमान बम ११ रनमा आउट भए। घोडाघोडी ११ का नरेन साउदले सर्वाधिक चार विकेट लिए।