वालिङ। टाइब्रेकरमा श्री ज्ञानोदय इङ्लिस बोर्डिङ स्कुललाई पराजित गर्दै भूपू सैनिक इङ्लिस सेकेन्डरी स्कुलले यु–१४ इन्टर स्कुल युथ फुटबल लिग जितेको छ।
सोमबार भएको खेलमा भूपू सैनिक र ज्ञानोदयबीचको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपश्चात् उपाधिको छिनोफानो टाइब्रेकरमार्फत गरिएको हो। टाइब्रेकरमा भूपू सैनिकका फलराज गुरुङ, सुशान्त गुरुङ, दानसिंह थापा र दीपक दर्जीले गोल गरे। सक्षम सिंहले भने गोल गर्न सकेनन्।
ज्ञानोदयका सुशान्त गुरुङ, सन्जोग राणा र असुन आलेले गोल गरे। तेजप्रसाद गुरुङ र कृशल थापाले भने सदुपयोग गर्न सकेनन्। फाइनल खेलको म्याच अफ द म्याच भूपू सैनिकका दीपक घोषित भए।
प्रतियोगिताको सर्वाधिक गोलकर्ता एभरग्रीन बोर्डिङ स्कुलमा रिज्वन राणा रहे। उत्कृष्ट गोलकिपर ज्ञानोदयका सुदर्शन थापा, उत्कृष्ट डिफेन्डर भूपू सैनिकका सक्षम शाही र उत्कृष्ट फरवार्ड ज्ञानोदयका सुशान्त गुरुङ रहे।
उत्कृष्ट प्रशिक्षक भूपू सैनिकका प्रदीप क्षेत्री रहे भने सर्वोत्कृष्ट खेलाडी भूपू सैनिककै दीपक रहे। यस्तै, फेयर प्ले अवार्ड एभरग्रीनले पायो।