धरान। हिसान बास्केटबल च्याम्पियनसिपको उपाधि धरान मेघा हिमालयन कलेज र धरान उच्च माविले चुमेको छ।
हिसान सुनसरीको ११औं स्पोर्ट्स मिटअन्तर्गत भएको प्रतियोगितामा धरान मेघा हिमालयनले पुरुषतर्फ र धरान उच्चले महिलातर्फको उपाधि चुमेका हुन्। पुरुषतर्फको फाइनल खेलमा धरान मेघाले धरान उच्चलाई ४६–२५ र महिलातर्फको खेलमा धरान उच्चले धरान मेघालाई २०–१८ अंकले पराजित गर्दै उपाधि जितेका हुन्।
प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएबल प्लेयरको उपाधि पुरुषतर्फ धरान मेघा कलेजका प्रशान्त तामाङ र महिलातर्फ धरान उच्चका कासाङमा लिम्बू घोषित भए। यसै गरी फाइनलतर्फको म्यान अफ द म्याच पुरुष र महिला दुवैतर्फ धरान मेघा हिमालयनका सेजेन गुरुङ र स्वेता राई घोषित भए।
पुरुष तर्फको फाइनल खेलमा सहज जित निकालेका धरान मेघा र धरान उच्चले प्रत्येक क्वाटरमा ८–४, १५–४, ९–२ र १४–१५ अंक जोडेका थिए। यसै गरी महिलातर्फको खेल भने प्रतिस्पर्धात्मक थियो।
प्रत्येक क्वाटरमा धरान उच्च र धरान मेघाले २–५, ९–०, ३–६ र ६–७ अंक जोडेका थिए। प्रतियोगितामा महिलातर्फ तीन र पुरुषतर्फ १० टिमले सहभागिता जनाएका थिए।