धनगढी। ई–प्लानेट नेसनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिपको सुदूरपश्चिम छनोटको उपाधि वेस्टर्न क्रिस्टल एकेडेमीले जितेको छ।
धनगढीस्थित मोहना खेल मैदानमा शुक्रबार सम्पन्न फाइनलमा वेस्टर्न क्रिस्टलले विद्या भूषण पब्लिक स्कुललाई ३३ रनले पराजित गर्दै नेसनल हाइस्कुल च्याम्पियनसिपको लागि छनोट भएको हो। सुदूरपश्चिम छनोटबाट विजेताको रूपमा वेस्टर्न क्रिस्टलले अब राष्ट्रिय फाइनलमा प्रतिस्पर्धा गर्नेछ।
राष्ट्रिय फाइनल माघ २३ देखि २६ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ, जहाँ ७ प्रदेशका विजेता र आयोजक टिम गरी ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
फाइनल खेलमा १०४ रनको लक्ष्य पछ्याएको विद्या भूषणले निर्धारित १० ओभर ब्याटिङ गरेता पनि ४ विकेट क्षतिमा ७० रन मात्र बनाउन सक्यो। विद्या भूषणको लागि नवीन शाहले सर्वाधिक २० रन बनाए। उनले १७ बलमा ३ चौका प्रहार गरे। प्रशान्त दमाईले १६ तथा रोशन विक र विवेक दुवालले समान ११ रन बनाए।
वेस्टर्न क्रिस्टलका बलर रोशन रावल, युनिक मल्ल र बिक्की सिंहले १/१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको वेस्टर्न क्रिस्टल एकेडेमीले निर्धारित १० ओभरमा ४ विकेट क्षतिमा १०३ रन बनाएको थियो।
वेस्टर्न क्रिस्टलको लागि ओपनर आरेश बोहराले सर्वाधिक ३७ रन बनाए। उनले २३ बलमा ४ चौका र १ छक्का प्रहार गरे। यस्तै चौथो नम्बरमा ब्याटिङ गरेका दीपक कुडमालले मात्र १३ बलमा २ चौका र ३ छक्का मद्दतले ३३ रन बनाए। शंकर बोहराले ११ रन बनाए। विद्या भूषणका रोशन विकले २ तथा विवेक दुवाल र नवीन शाहले १/१ विकेट लिए।