काठमाडौं। डिएभी क्रिकेट एकेडेमीले इन्डो नेपाल एकेडेमी टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ।
मूलपानी ( तल्लो ) मैदानमा सम्पन्न फाइनलमा डिएभीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीलाई ३४ रनले पराजित गर्दै उपाधि चुमेको हो। दोस्रो इनिङ्समा १४० रनको लक्ष्य पछ्याएको ग्रेट हिमालयन क्रिकेट एकेडेमीले १९ ओभरमा १०५ रनमा सबै विकेट गुमायो।
ग्रेट हिमालयका सुप्रिम सुनारले सर्वाधिक ६१ रन बनाए जुन क्रममा उनले ४९ बलमा ५ चौका र २ छक्का प्रहार गरे। अभि थपलियाले ११ तथा प्रबल श्रेष्ठले १० रन बनाए।डिएभीको बलिङमा प्रसिद्ध जैसीले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २८ रन खर्चिए। केशव अग्रवाल र तनिश्क कुमार शाहले समान २ विकेट लिए । कमल शाही र प्रसंग पौडेलले १/१ विकेट लिए।
यसअघि टस जितेर ब्याटिङ गरेको टिपटप डिएभीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो।डिएभीको ब्याटिङमा ओपनर श्रेयश अग्रवालले सर्वाधिक ३९ रन बनाए। प्रसंग पौडेलले ३३, प्रसिद्ध जैसीले ३१ रन बनाए। कमल शाहीले अविजित १३ रन तथा कप्तान आरुष झाले ११ रन योगदान दिए।
ग्रेट हिमालयको बलिङमा वंश क्षेत्री र सामीप्य सापकोटाले समान २ विकेट लिए। अलराउन्ड प्रदर्शन गरेका डिएभीका प्रसिद्ध जैसी फाइनलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट ब्याटर ग्रेट हिमालय क्रिकेट एकेडेमीका वंश क्षेत्री घोषित भए। उत्कृष्ट बलर ग्रेट हिमालय क्रिकेट एकेडेमीका सामीप्य सापकोटा तथा उदयमान खेलाडी अभिषेक कडायत घोषित भए। यस्तै उत्कृष्ट विकेटकिपर बोलपुर युथ टाउन क्लब, बङ्गाल भारतका अत्रिजो रोय घोषित भए।
विजेता खेलाडीहरूलाई नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन कुमार सिंहले पुरस्कार प्रदान गरे। डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा माघ १६ गते देखि सुरु भएको प्रतियोगितामा कुल ६ टिम सहभागी रहेका थिए। टिपटपको मुख्य प्रायोजन रहेको प्रतियोगितामा १६ वर्ष मुनिका र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाए।