काठमाडौं। क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनसँगै अल–नासर साउदी प्रो लिगको तेस्रो स्थानमा उक्लन सफल भएको छ।
साउदी अरेबियाको बुरैदास्थित किङ्स अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा भएको खेलमा अल–नासरले अल–रायदलाई २–१ ले पराजित गरेको हो। यो महत्त्वपूर्ण जितसँगै अल–नासरको उपाधि होडलाई थप बलियो बनाएको छ।
खेलको प्रारम्भिक अवस्थाबाटै दुवै टोली फरक परिस्थितिमा मैदानमा उत्रिएका थिए। स्टेफानो पियोलीको व्यवस्थापनमा रहेको अल–नासर लगातार अल–फतेह र अल–खालिजविरुद्धको जितलाई निरन्तरता दिन चाहन्थ्यो। उता, लिगको पुछारमा रहेको अल–रायद आफ्नो छ हारको शृंखला तोड्न आतुर थियो।
रोनाल्डोले ३५ औं मिनेटमा अल–नासरलाई सुरुआती अग्रता दिलाए। मर्सेलो ब्रोजोभिचको उत्कृष्ट पासलाई सदुपयोग गर्दै उनले गोलरक्षकलाई बिट गर्दै सहज गोल गरे। क्रिस्टियानो रोनाल्डोले पहिलो गोल गर्दै दोस्रो गोलका लागि असिस्ट पनि प्रदान गरे।
दोस्रो हाफ सुरु भएको दुई मिनेटमै अल–नासरले आफ्नो अग्रता दोब्बर बनायो। रोनाल्डोको क्रसमा नुवाफ बाउशलले गोल गरे। अल–रायदले दुई गोलको अन्तर घटाउन प्रयास गरिरह्यो। अन्ततः ७६ औं मिनेटमा अमिर सायोदले अल–नासरको डिफेन्सको त्रुटिलाई सदुपयोग गर्दै गोल गरे। यो गोलले अल–रायदका समर्थकलाई केही आशा प्रदान गर्यो। तर, खेलको परिणाम बदल्न पर्याप्त भएन।
यस जितसँगै ३८ अंक जोडेको अल–नासर तेस्रो स्थानमा उक्लिएको छ, जसले अल–हिलाल र अल–इत्तिहादसँगको दूरी घटाएको छ। अल–रायद लिगको पुछारतिर दबाबमा छ। हाल १५औं स्थानमा १४ अंकसहित संघर्ष गरिरहेको छ।