काठमाडौं। आयोजक लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) का कप्तान तथा गोलकिपर विकेश कुथु सभापति कपको ‘उत्कृष्ट गोलकिपर’ घोषित भएका छन्। योसँगै उनले ५० हजार रुपैयाँ पाएका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको फाइनल खेलमा संकटा फुटबल क्लबले टाइब्रेकरमा बागमतीलाई ४–३ ले पराजित गर्दै उपाधि जितेको थियो।
तर, विकेशले सुरुआती दुई प्रहार रोकेका थिए। उनले राम थापा र रोशन पहारीलाई रोके पनि कुलदीप कार्की, गौरव श्रेष्ठ र रजत तिवारीले गोल गर्न सकेनन्। योसँगै कुथु र उनको टोली उपविजेतामा सीमित भयो।
सेमिफाइनलमा न्युरोड टिम (एनआरटी)लाई टाइब्रेकरमा एनआरटीलाई ४–२ ले पराजित गर्दै बागमतीले संकटासँगको भेट पक्का गरेको थियो। कुथुले एनआरटीका सरोज तामाङको प्रहार बचाएका थिए।
कुथु विभागीय टोली त्रिभुवन आर्मी क्लबाट घरेलु फुटबल खेल्दै आएका छन्। तर, यो कपमा आर्मीले सहभागिता नजनाउने भएसँगै उनी आयोजकको टोलीबाट खेलेका हुन्।