काठमाडौं। ‘ए’ डिभिजन क्लब मच्छिन्द्र फुटबल क्लबको अध्यक्षमा अनिल श्रेष्ठ निर्वाचित भएका छन्।
नयाँ नेतृत्वका लागि भएको निर्वाचन प्रक्रियामा उनी निर्विरोध निर्वाचित भएका हुन्। पछिल्लो समय घरेलु फुटबलको ‘पावर हाउस’को रूपमा उदाएको मच्छिन्द्रमा उनले व्यवस्थापकको रूपमा काम गर्दै आएका थिए।
यसअघिको कार्यकालमा उपाध्यक्ष पदमा रहेका उनलाई क्लबले आगामी नयाँ कार्यकालका लागि विश्वास गरेका हो। बुधबार भएको उम्मेदवारी मनोनयन प्रक्रियामा उनको एक्लो उम्मेदवारी परेको थियो। बिहीबार दिउँसो एक बजेसम्मको दाबी विरोधमा कुनै उजुरी नपरेपछि उनी निर्विरोध अध्यक्ष बन्ने बाटो खुलेको हो।
आगामी शनिबार क्लबको साधारण सभा हुँदैछ। उनकै व्यवस्थापकीय नेतृत्वमा मछिन्द्रले लगातार दुई सिजन स्मारक ‘ए’ डिभिजन लिगको च्याम्पियन बनेको थियो।
पछिल्लो समय घरेलु फुटबलमा खेलाडीलाई राम्रो सेवा सुविधा दिएर खेल्ने वातावरण बनाउने काममा अनिलले नेतृत्वदायी भूमिका खेल्दै आएका छन्। पछिल्लो एक वर्ष उनी राष्ट्रिय फुटबल टिमका व्यवस्थापकको रूपमा समेत काम गरेका थिए।