काठमाडौं। शीर्ष र मध्यक्रमका ब्याटर चल्न नसक्दा घरेलु टोली नेपाल त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेलमा नेदरल्यान्ड्ससँग पराजित भएको छ।
बिहीबार सम्पन्न खेलमा नेपाल २० रनले पराजित भएको हो। जितसँगै नेदरल्यान्ड्सले दुई अंक जोडेको छ। नेदरल्यान्ड्सले दिएको १५८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३७ रन मात्रै बनाउन सक्यो।
नेपालकी ओपनर सीता रानामगरले सर्वाधिक २८ रन बनाइन्। ४५ बल खेलेकी उनले तीन चौका प्रहार गरिन्। कविता जैशी २७, पूजा महतो २४ रनमा आउट भइन्। तर, ओपनर सम्झना खड्का, कप्तान इन्दु बर्मा र कविता कुँवर भने चल्न सकेनन्।
तल्लोक्रमका बिन्दु रावल तीन र अलियाकुमारी यादव चार रनमा अविजित रहिन्। नेदरल्यान्ड्सका क्यारोलिन डि ल्याङ्गे र इभा लिन्चले समान दुई विकेट लिइन्। सिल्भर सिजर्स र आइरिस ज्विलिङको नाममा समान एक विकेट रह्यो।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पाहुना टोलीले चार विकेट गुमाउँदै १५७ रन बनाएको थियो।
रोबिन रिज्केले सर्वाधिक ५९ रन बनाइन्। ४८ बल खेलेकी उनले आठ चौका प्रहार गरिन्। स्टेर कालिस २९, हेदर सिगर्स २३ रनमा आउट हुँदा आइरिस ज्विलिङले अविजित ३१ रनको इनिङ्स खेले। उनले १३ बलमा पाँच चौका प्रहार गरेका हुन्।
नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता रानामगरले समान एक विकेट लिइन्।