काठमाडौं। केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनको दोस्रो सातादेखि सुरु हुने भएको छ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ देखि १९ गतेसम्म केपी ओली कपको तेस्रो संस्करण हुन लागेको हो। सहिद स्मारक ‘ए’ डिभिजन र विदेशी क्लब गरी कुल १० टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको क्वार्टरफाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान र सेमिफाइलका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले १५ लाख ११ हजार ११ हजार १११ रूपैयाँ र उपविजेताले पाँच लाख रुपैयाँसहित ट्रफी पाउने भएका छन्। प्रतियोगिताकै उत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
म्यान अफ द म्याचले १५ हजार रूपैयाँ पाउने भएका छन्। हरेक खेल जितेबापत पनि टोलीले २५ हजार रूपैया प्राप्त गर्ने युवा संघले जनाएको छ।