काठमाडौं। नेपाली राष्ट्रिय टोलीकी पूर्वस्ट्राइकर अनु लामाले घरेलु फुटबलबाट पनि सन्न्यास लिने भएकी छन्। करिब ६ वर्षअघि नै अन्तर्राष्ट्रिय खेल जीवनबाट उनले सन्न्यास लिइसकेकी थिइन्।
यद्यपि, ३७ वर्षीय अनुले विभागीय टोली एपिएफबाट घरेलु फुटबल भने खेल्दै आएकी थिइन्। उनका अनुसार बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न एन्फा महिला लिगको फाइनललगत्तै उनले सन्न्यास लिने छिन्।
उनले सन्न्यास लिने भएसँगै नेपाल पुलिस क्लबको फाइनलअघि नै एपिएफका प्रशिक्षक, स्टाप र खेलाडीहरूले अनुसँग सामूहिक तस्बिर लिएका थिए। अनुले सन् २०१० मा बंगलादेशविरुद्ध दक्षिण एसियाली खेलकुद (साग) को महिला फुटबल प्रतियोगितामा नेपाली यु–२३ टोलीमा डेब्यू गरेकी थिइन्। उनले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई कांस्य पदक जिताउन महत्त्वपूर्ण योगदान दिइन्। अनुले पाकिस्तानविरुद्धको सेमिफाइनलमा ह्याट्रिक गर्दै नेपाललाई ७–० को जित दिलाएकी थिइन्।
त्यही वर्ष आयोजना भएको साफ महिला च्याम्पियनसिप खेल्न उनलाई नेपाल राष्ट्रिय महिला टोलीमा बोलाइएको थियो। उनले डिसेम्बर १२ मा माल्दिभ्सविरुद्धको डेब्यु खेलमै गोल गरेकी थिइन्। उक्त खेलमा नेपालले ३–० को जित हासिल गरेको थियो। त्यसको दुई दिनपछि अफगानिस्तानसँगको भेटमा उनी एक्लैले पाँच गोल गर्दै १३– ० को जित दिलाएकी थिइन्।
यस्तै, पाकिस्तानसँगको १२–० को जितमा पनि उनले ह्याट्रिक गरेकी थिइन्। बंगलादेशलाई ३–० ले हराउँदा उनले एक गोलको योगदान दिए पनि नेपाल फाइनलमा पराजित भएको थियो। उनले तीनपल्ट साफमा सहभागिता जनाएकी छन्। जसमा २१ गोल गर्दै नेपालका लागि सर्वाधिक गोलकर्ताको सूचीमा उनी अग्रस्थानमा पुगेकी थिइन्।
उक्त कीर्तिमानलाई सावित्रा भण्डारीले मात्रै पछ्याइरहेकी छन्। अनुले साफसहित राष्ट्रिय जर्सीमा ३५ अन्तर्राष्ट्रिय गोल गरेकी छन्। यद्यपि, एसिएल शल्यक्रियापछि डिसेम्बर २०१६ देखि उनलाई बेन्चमा राखिएको थियो। अनुले शल्यक्रियापछि डेढ वर्षको विश्राम लिएर पुनः खेलमा फर्किएकी थिइन्। यद्यपि, उनी कहिल्यै राष्ट्रिय टोलीको पहिलो रोजाइमा परिनन्।
उनको लोभलाग्दो प्रदर्शनका बाबजुद सन् २०१९ मा भएको १९औं सागअन्तर्गत विराटनगरमा सम्पन्न महिला फुटबलमा तत्कालीन मुख्य प्रशिक्षक हरि खड्काले उनलाई टोलीमा राखेका थिएनन्। त्यसैले उनले एन्फा डेको अवसर बनाएर अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिएकी थिइन्।