काठमाडौं। स्ट्राइकर नेयमारले सन् २०२१ को अगस्टमा लिओनल मेसी फ्रेन्च क्लबमा आबद्ध भएपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) का पूर्वसहकर्मी केलियन एमबाप्पे जेलस फिल गर्ने (जल्ने) गरेको बताएका छन्। मेसी सन् २०२१ को अगस्टमा क्याटलान क्लब बार्सिलोनाबाछ पिएसजी पुगेका थिए।
विश्वकप विजेता रोमारियोले बिहीबार सार्वजनिक गरेको पोडकास्टमा बोल्दै साउदी क्लब अल–हिलाल छाडेका ३२ वर्षीय ब्राजिलियन खेलाडीले ठूला अहंकारका कारण पिएसजीको प्रदर्शनमा असर परेको बताए।
यसै सिजन रियल मड्रिडमा प्रवेश गरेका एमबाप्पे यो कुराले तपाईंसँग रिसाउने पो हुन् कि? भनेर रोमारियोले सोधेका थिए। तर, नेयमारले आफूसँग पहिला नै एमबाप्पेको झगडा परिसकेको समेत खुलाए। ‘मेरो उनीसँग केही समस्या थियो, तर उनी हाम्रो लागि महत्त्वपूर्ण थिए। मैले उनलाई सधैं गोल्डेन ब्वाई भन्थें। म उनको साथमा खेलेको थिएँ र उनी एकदिन उत्कृष्ट खेलाडी बन्नेछ भन्थें। मैले उनलाई सधैं सहयोग गरें, कुरा गरें र उनले मेरो घर आएर डिनर पनि गरेका थिए,’ नेयमारले भने।
उनले थपे, ‘हामीले केही राम्रो वर्ष सँगै बितायौं। तर, मेसी आएपछि उनी अलि जल्ने भए। उनले मलाई कसैसँग बोलेको हेर्न चाहेनन्। त्यसपछि केही झगडा भयो र व्यवहारमा परिवर्तन आयो।’ एमबाप्पे सन् २०१७ मा मोनाकोबाट पिएसजीमा आबद्द भएका थिए। सोही वर्ष नेयमार स्पेनिस क्लब बार्सिलोनाबाट फ्रान्सेली क्लबमा सरेका थिए।
क्लबले पहिलो च्याम्पियन्स लिग उपाधि जित्न दुबै खेलाडीलाई अनुबन्ध गरेको थियो, जुन उसले अझै जित्न सकेको छैन। नेयमारले ठूलो अहंकारका कारण टिमले संघर्ष गर्ने गरेको बताए। तर, कसैको नाम भने नलिएनन्।
‘अहंकार हुनु राम्रो हो, तर तपाईँले जान्नुपर्छ कि तपाईं एक्लै खेल्न सक्नुहुन्न। तपाईंको छेउमा अर्को खेलाडी पनि हुनुपर्छ। अहंकार हरेक ठाउँमा थियो, यसरी काम गर्दैन। यदि कसैले दौडँदैन र सहयोग गर्दैन भने केही पनि जित्न सम्भव छैन,’ उनले भने।
नेयमारले साउदी अरबमा आफ्नो सम्झौता वर्षको मध्यमा सकिएपछि ब्राजिल फर्कने सम्भावनालाई नकारेका छैनन्। नेयमारको टिप्पणीमा न एमबाप्पे न त मेसीले कुनै प्रतिक्रिया दिएका छन्।