नेयमारले छाडे अल–हिलाल

काठमाडौं। साउदी अरबको क्लब अल–हिलालले ब्राजिली स्ट्राइकर नेयमारसँग आपसी सहमतिमा सम्झौता समाप्त गरेको घोषणा गरेको छ। क्लबसँग नेयमारको सम्झौता यो वर्षको मध्यसम्म कायम थियो। तर, दुबै पक्षको सहमतिमा त्यसलाई समाप्त गरिएको हो।
अल–हिलालले सामाजिक सञ्जाल ‘एक्स’ मा जारी गरेको विज्ञप्तिमा नेयमारलाई धन्यवाद दिँदै भनेको छ, ‘उनले क्लबका लागि पुर्याएको योगदानको लागि हामी आभार व्यक्त गर्दछौं।’
३२ वर्षीय नेयमार २०२३ को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) बाट ९० मिलियन युरो (९४ मिलियन डलर) मा अल–हिलालमा भित्रिएका थिए। तर, उनले क्लबका लागि धेरै खेल्न सकेनन्। ब्राजिलका लागि खेल्दा एसिएल चोट बोकेपछि उनी करिब एक वर्ष मैदानबाट बाहिर रहे।
उनको अन्तिम खेल नोभेम्बरमा भएको थियो। पछिल्ला अन्तर्वार्ताहरूमा नेयमारले प्रशिक्षक जर्ज जिससले आफूलाई बाँकी सिजनका लागि टिममा समावेश गर्नेबारे अनिश्चितता रहेको बताएका थिए।
ब्राजिलियन मिडियाका अनुसार नेयमार र उनका बुवाले बाल्यकालको क्लब सान्तोस फर्कने चासो देखाएका छन्। नेयमारले सान्तोसबाट नै राष्ट्रिय स्तरमा ख्याति कमाएका थिए। उनी फ्लामेङ्गोसँग पनि जोडिएका छन्, जहाँ उनले भविष्यमा खेल्न चाहेको बताउँदै आएका छन्।
नेयमारका एजेन्टहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन्।








-1763853774420.webp&w=3840&q=75)




