काठमाडौं। सभापति कप फुटबलको फाइनल प्रवेशका लागि मंगलबार आयोजकको टिम नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश (बागमती) र न्युरोड टिम (एनआरटी) बीच प्रतिस्पर्धा हुँदैछ।
क्वार्टरफाइनलमा आयोजक टिम बागमतीले विभागीय क्लब नेपाल पुलिसलाई २–१ ले पराजित गरेको थियो। पुलिससँग एक गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको थियो।
एनआरटीले भने फ्रेन्ड्स क्लबलाई ३–१ ले पराजित गरेको थियो। उक्त खेलमा एनआरटीका कप्तान अञ्जन विष्टले दुई गोल गरेका थिए। यसअघि सोमबार भएको पहिलो सेमिफाइनलमा जित निकाल्दै संकटा क्लबले फाइनलमा स्थान बनाएको छ। संकटाले मच्छिन्द्र क्लबमाथि सडनडेथमा ८–७ को नतिजा निकाल्दै फाइनलमा स्थान बनाएको हो।