काठमाडौं। नेपाली राष्ट्रिय महिला टोली नहेर्ने घोषणा गरेका राजेन्द्र तामाङले मुख्य प्रशिक्षकमा पुनरागमन गरेका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) ले उनलाई सोमबार तेस्रो कार्यकालका लागि नियुक्तिपत्र थमाएको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गत कार्तिक १४ गते भएको साफ च्याम्पियनसिप २०२४ को फाइनलमा बंगलादेशसँग २–१ ले पराजित भएसँगै उनले टोली छाडेको घोषणा गरेका थिए। त्योसँगै उनले अब राष्ट्रिय महिला टोली कहिल्यै नहेर्ने वाचा गरेका थिए।
उनले भनेका थिए, ‘मैले आजैबाट महिला टोली छाडेको छु। अब म महिला टोलीमा हेर्दिन। अब म क्लबतिर जान्छु।’ तर, त्यसको तीन महिना पछि नै उनले जिम्मेवारीमा पुनरागमन गरेका हुन्।
गत फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा उनले नेपाललाई फाइनल पुर्याएका थिए। त्यतिखेर जोर्डनसँग पराजित भएको नेपालले उनको प्रशिक्षणमा साफको फाइनलमा पनि हार बेहोरेको थियो।
अब उनको प्रशिक्षणमा नेपाली राष्ट्रिय महिला टोलीले फागुन ४ गतेदेखि १५ गतेसम्म घरेलु मैदानमा हुने फोर नेसन्स कप खेल्ने छ। प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेवनान र म्यानमारले सहभागिता जनाउने छन्। तामाङले सोमबार नै ३९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।